बुधबार, भाद्र ३ गते २०८३

तरलता बढी सुस्त कर्जा, वैशाखमा फेरि घट्यो बैंक ब्याजदर


चैत्र ३०, २०८२ सोमबार
तरलता बढी सुस्त कर्जा, वैशाखमा फेरि घट्यो बैंक ब्याजदर

 

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । उच्च तरलता र कर्जा प्रवाह सुस्त रहेको अवस्थाका कारण बैंकहरूको ब्याजदर क्रमशः घट्दै गएको हो । बैंकहरूले प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाको ब्याजदर सार्वजनिक गर्ने क्रममा सोमबार वैशाखका लागि नयाँ दर सार्वजनिक गरेका हुन्।

चैतको तुलनामा वैशाखमा ७ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले यथावत् राखेका छन् । केही बैंकले घटाए पनि अधिकांशले स्थिर राख्दा औसत ब्याजदर भने समग्रमा घटेको देखिएको छ । तथ्यांक अनुसार, चैतमा औसत ४.४९४ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर वैशाखमा घटेर ४.४०० प्रतिशतमा झरेको छ, अर्थात् ०.०९४ प्रतिशत बिन्दुले कमी आएको छ।

ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् । यस्तै कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा बैंकले ब्याजदर स्थिर राखेका छन्।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि प्रभाव पर्ने हुन्छ । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर घट्ने र त्यसको प्रभावस्वरूप कर्जाको ब्याजदर पनि घट्ने गर्छ। वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत कायम रहेको छ, जुन एनएमबी बैंक ले ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रदान गरेको हो। अन्य बैंकहरूको अधिकतम ब्याजदर भने ५ प्रतिशतभन्दा तल रहेको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह बढ्न नसक्दा ब्याजदरमा निरन्तर दबाब परेको देखिन्छ।