शुक्रबार, कार्तिक ७ गते २०८३

मैले सकीनसकी यहाँसम्म बोकेर ल्याएको जनताको आस्था र विश्वासको नासो : गणेशमान सिंह


चैत्र २६, २०८२ बिहीबार
मैले सकीनसकी यहाँसम्म बोकेर ल्याएको जनताको आस्था र विश्वासको नासो  : गणेशमान सिंह
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सर्बोच्च नेता गणेशमान सिंह (बि.सं. १९७१–२०५४) विश्वकै प्रजातान्त्रिक आन्दोलनमा पनि बिरलै हुने योद्धा, सिद्धान्तमा दृढ र इमानदार राजनेताको नाम हो । उहाँ नेपाली काँग्रेसको संस्थापक मूर्धन्य नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँकै सर्वोच्च र सर्वमान्य नेतृत्वमा २०४६ आज चैत २६ गते (आजकै दिन) ३० वर्षे पञ्चायती शासन व्यवस्था फालेर मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिन ।
 
२०४६ मा उहाँकै सर्वमान्य नेतृत्वमा कम्युनिस्ट पार्टीहरू सम्मिलित वाममोर्चा र नेपाली काँग्रेसको संयुक्त जनआन्दोलनबाट ३० वर्षसम्मको पञ्चायती शासन ढलेको हो । त्यो परिवर्तनमा उहाँलाई नेपाली काँग्रेसका अर्का संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) र वाममोर्चाका नेता मनमोहन अधिकारीको भरपर्दो सहयोग थियो । गणेशमानजीले बोलेपछि बाममोर्चा भित्र विवाद रहँदैनथ्यो भने किसुनजीले बोलेपछि काँग्रेसमा विवाद रहँदैनथ्यो । यिनै तीन राजनेताको दृढतापूर्ण अडान र अथक मिहिनेतबाट ६ महिनाभित्रैमा मुलुकले प्रजातान्त्रिक संविधान पायो । वास्तबमा यो नै नेपाली जनताले आफ्नै बुताबाट ल्याएको वास्तविक प्रजातन्त्र थियो ।
 
Farakmat.png
 
तीतो सत्य बोल्ने हो भने जब नेपाली जनताको प्रजातन्त्र उखेलेर फ्याँकी विदेशीको लोकतन्त्र स्थापित गरियो, यो देशको दुर्दशा त्यहीँबाट हुनथालेको हो । नेहरु जयन्तीका दिन नेपालका लागि भारतका तत्कालीन राजदूत प्रो. जयन्त प्रसादले भनेका थिए, “मैले नेपालमा गणेशमानजीलाई गान्धी पाएँ ।” नभन्दै, भारतीयहरू उहाँलाई महात्मा गान्धीलाई जस्तै अदब र श्रद्धा देखाउँथे । जीवनका आखिरी दिनतिर उहाँ तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाका गतिविधिबाट दिग्दार हुनुभएको थियो । वास्तबमा यही दिग्दारीका कारण उहाँले पार्टी छोडेर अलग बस्नुभएको थियो । तथापि काँग्रेसका नेता र कार्यकर्ताहरूको उहाँको निवासमा सँधै भीड हुन्थ्यो । २०५४ साल असोज २ गतेको राती गणेशमानजी ठूलै हृदयाघातका कारण परलोक हुनुभयो ।
cogressneta.jpg
गणेशमानजीको यो भनाई उहाँको आत्मसंस्मरण ‘मेरो कथाका पानाहरू (खण्ड–२)’ को पृ. २३९ बाट झिकिएको हो । यस अनुच्छेदको पूर्ण रुप यस्तो छ, “साँच्चै भन्ने हो र छातीमा हात राखेर इमानदारीका साथ कबुल गर्ने हो भने २००७ सालमा जनताले मलाई सुम्पेको विश्वास फेरि जनतालाई फर्काउन मलाई २९ वर्ष लाग्यो । मैले २०४६ सालको जनआन्दोलनपछि म आफू अऋणी भएको अनुभव गरेको छु । मैले सकी–नसकी यहाँसम्म बोकेर ल्याएको जनताको आस्था र विश्वासको नासो जनतालाई नै सुम्पेको छु । म जनताको ऋणमुक्त भएको छु ।”