ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरबाबु मर्हजनले सहकारी क्षेत्रले गिरेको साखलाई माथि उठाउन लाग्नु पर्ने बताएका छन् । उनले सहकारी क्षेत्रको साखलाई पुनरोत्थान गर्न कम्तिमा १० बर्ष लाग्ने भन्दै त्यसका लागि अभियानले समर्पित भएर काम गर्नुपर्ने बताएका हुन् ।
ललितपुरमा भएको ‘सहकारीमा उद्यमदेखि उद्योगसम्मको विकास’ विषयक गोष्ठीको प्रमुख अतिथिको रुपमा बोल्दै उनले सहकारीको साखलाई माथि उठाउन लागे महानगरले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । सहकारी क्षेत्रको कारण मुलुकको अर्थतन्त्र नै धराशासी हुने अवस्थामा पुगेको भन्दै उनले यस क्षेत्रका लागि बलियो कानुनको आवश्यकता रहेको औंल्याए । सहकारीमा लाखौं मानिसले बचत गरेको भन्दै मेयर महर्जनले अहिलेको घटनाबाट पाठ सिक्न आग्रह गरे । अहिले बैंक तथा वित्तीय संस्थामा निक्षेपमा शुन्य ब्याजदर रहेको भन्दै उनले सहकारीको पैसा बैंकमा जम्मा हुँदा ब्याजदर घटेको उल्लेख गरे । बचत संकलनको लागि धेरै ब्याज र सुनको असर्फी दिने जस्ता कुरा बन्द गर्न उनले निर्देशन दिए ।
जतिसुकै महेनत गरेपनि सहकारी क्षेत्र तंग्रिन ८–१० वर्ष लाग्ने भन्दै मेयर महर्जनले त्यसका लागि राम्रो गृहकार्य गर्न सुझाए । गरेन नहुने केही पनि छैन भन्दै उनले रिक्स बढी भए प्रोफिट पनि बढी हुने भन्दै अब विचार गरेर मात्र पाइला चाल्न आग्रह गरे । ललितपुर महानगरले सहकारी क्षेत्रलाई माथि उठाउन सधैं लगानी गर्न तयार रहेको उनले सुनाए । महानगरको संयोजनमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष जगतलाल महर्जनको सभापतित्व रहेको थियो भने कार्यक्रमको सञ्चालन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईले गरेका थिए ।
कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत नविन दाहालले प्रस्तुतिकरण गरेका थिए । उनले सहकारीका सदस्यलाई उद्यमी बनाउन के गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सदस्यलाई उद्यमी बनाउन संस्थाले ज्ञान, सीप, पुँजी, प्रविधि, बजारका लगायतका सबै प्रबन्ध गर्नुपर्ने उनले बताए । सहकारीलाई बचत लिने र ऋण लगानी गर्ने संस्थाको रुपमा चित्रण गरिएको भन्दै उनले अब उद्यमशीलता मार्फत् सदस्य र समाजको आर्थिक सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिए । सबै प्रकृतिका सहकारी बचत ऋणमा सीमित हुनु नै अहिलेको समस्याको एउटा जड भएको भन्दै दाहालले सहकारीले उदेश्य अनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा जिल्लामा रहेको सहकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालपत्र संवाददाता