बुधबार, भाद्र ३ गते २०८३

अमेरिका–इरान युद्धमा लाग्याे ‘ब्रेक’: पाकिस्तानकाे मध्यस्थतामा दुई साता युद्धविराम


चैत्र २५, २०८२ बुधबार
अमेरिका–इरान युद्धमा लाग्याे ‘ब्रेक’: पाकिस्तानकाे मध्यस्थतामा दुई साता युद्धविराम

 

काठमाण्डाै । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे ‘सभ्यता नै ध्वस्त पारिदिने’ कडा चेतावनीसहितको समयसीमा सकिन केही मिनेटअघि दुवै पक्षले अस्थायी युद्धविराम घोषणा गरेका हुन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको मध्यस्थतामा भएको पहलपछि युद्धविराम “तत्काल लागू” भएको घोषणा गरिएको हो। उक्त समयसीमा नेपाली समयअनुसार बुधवार बिहान ५:४५ बजे सकिँदै थियो।

युद्धविराम मुख्यतः स्ट्रेट अफ हर्मुज जलडमरू सुरक्षित रूपमा खुला राख्ने सर्तसँग जोडिएको छ। इरानका विदेशमन्त्री अब्बास अर्गजीले इरानी सशस्त्र फौजको समन्वयमा होर्मुजबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्। यद्यपि इरानले यो “युद्धको अन्त्य होइन, अस्थायी बिराम मात्र” भएको स्पष्ट पारेको छ। युद्धमा प्रत्यक्ष रूपमा संलग्न रहेको पनि इजरेलले पनि युद्धविरामको सहमति पालना गर्ने संकेत दिएको विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मध्यस्थता पक्षले लेबनानमा पनि युद्धविराम हुने भनेता पिन इजरेलले त्यसलाइ नकारेकाे ।   

अप्रिल १० मा द्विपक्षीय वार्ता हुने

यसबीच पाकिस्तानले आगामी अप्रिल १० मा इस्लामावादमा दुवै पक्षका प्रतिनिधिमण्डलबीच प्रत्यक्ष वार्ता आयोजना गर्ने तयारी गरेको छ। “इस्लामाबाद वार्ता” का रूपमा हेरिएको उक्त बैठकमा क्षेत्रीय सुरक्षा, होर्मुज मार्ग खुला राख्ने व्यवस्था तथा इरानमाथिका आर्थिक प्रतिबन्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। युद्धविरामको घोषणासँगै होर्मुज जलमार्गबाट तेल ढुवानी पुनः सुरु हुने संकेत देखिएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य केही स्थिर हुन थालेको विश्लेषण गरिएको छ।

यद्यपि दुवै पक्षले आफूलाई विजयी ठहर्याउने प्रयास गरेका छन्। ट्रम्पले “हामीले होर्मुज खोलायौं” भन्ने दाबी गरेका छन् भने इरानले अमेरिकी आक्रमण रोक्न बाध्य पारेको दाबी गरेको छ। विश्लेषकहरूका अनुसार दुई साताको युद्धविरामले तत्काल ठूलो सैन्य टकराव टारे पनि स्थायी समाधान भने अझै टाढा रहेको छ। इस्लामाबादमा हुने वार्ता सफल भएमा मध्यपूर्वमा तनाव घटाउने नयाँ कूटनीतिक बाटो खुल्न सक्छ, नत्र केही साताभित्रै पुनः तनाव चर्किने जोखिम कायम रहने अनुमान गरिएको छ।