शून्यता केही नहुनु हो र निरस्तित्वमानतालाई यो अखिल ब्रम्हाण्डमा नज़र अन्दाज़ नगर्ने हो भने शून्यता नैं एक ब्रम्हाण्ड मान्नू पर्ने हुन्छ ।
भावनात्मक प्रतिक्रिया शून्य हुँदा चमत्कार हुनसक्छ, योग ध्यानमा भावना शून्य हुन निकै गारो हुन्छ। सहस्र सम्झनाहरू एकसाथ आउँछन्। मनले तिनको निरुद्ध गर्न निकै परिश्रम गर्नुपर्छ र पनि सम्भावना ज्यादै न्यून रहन्छ । मनको शून्यता चेतनको उद्गमस्थल हो।
प्रेमीको आँखाबाट हेर्दा मान्छे लट्ठ परेर विचार शून्य भएको हुन्छ, ऊ सम्मोहित भएको यो मानसिक शून्यावस्था हो । शून्यतामा चमत्कार घटित हुन्छन् ।
यौनको चरमोत्कर्षमा शून्यता घटित हुन्छ त्यसैले प्रागानुभवको अवस्था शून्यावस्था हो । शून्य हुनु भनेको बेगवान प्रक्रिया घटित हुनु पूर्वको आधार हो ।
भावानुभूति तर्कले प्रकट गर्न सकिँदैन, त्यसैले भाव–शून्यता तर्क–शून्यता हुन सक्तैन। तर्कको धरातल भावनाको तहभन्दा निकै तल बुद्धिमा हुन्छ, भावना पराबुद्धि हो यसैले तर्कले भावनालाई अंकुश लाउन सक्दैन । त्यसैले कविको भावनात्मक उद्वेलन गत्यात्मक शक्तिशाली प्रवाह हो जसले मान्छेको अन्तरको शून्यतालाई तरंगित गरिदिन्छ । यस मानेमा सबै सिर्जनाहरू मानवीय भाव शून्यता भर्नका लागि घटित हुन्छन् । यस मानेमा सिर्जनाहरू चमत्कारका विलोम हुन् । प्रकृतिले आफूलाई परिपूर्ण गराउन अनेक अविष्कार गराउँछ। प्रकृतिको ईच्छा एउटा विशाल शून्य हो जसको परिपूर्ति आदिकाल देखि हुँदै आएको हो । शून्यता हुनु र त्यो भरिँदै जानु यही नैं आजसम्मको सृष्टिको इतिहास हो, त्यसैले शून्य जगतको आधार हो ।
शून्यले आकार र आयतन दिन्छ र आकार बिना वस्तुको पहिचान हुन्न, त्यसैले शून्य संज्ञानको पहिलो आधार हो । यावत सृष्टिको प्रादुर्भाव शून्यतामैं हुन्छ।
राग र द्वेषका बीचमा मनलाई स्थीर राख्न सक्नु ध्यानको मर्म हो र यो शून्यावस्था हो । यो मध्यमावस्था मा विचार शून्यतामा आउन सकियो भने चमत्कार घटित हुन सम्भव छ।
आकाश शून्य छ, अंतरिक्ष शून्य छ र शून्य छ ब्रह्माण्ड । यो चराचर जगत् जो छ सबै शून्यमा आश्रित छ र यहाँ देखिने चराचर फगत यसै शून्यलाई गौरवान्वित मात्र गरिरहेका छन् । यिनका उत्पत्ति र लय शून्यताका परिचय मात्र हुन्। सन्तानले बाबु आमा र गोत्रको परिचय दिए जस्तै सृष्टिले जगतको र जगतले शून्याकाशको परिचय दिइरहेको हुन्छ । शून्यता सृष्टि र जगत्को मातृ हो र चराचर आफ्नो भौतिक अस्तित्व सकिएपछि पनि यही शून्याकाशमा चेतन रूपमा तरंगित हुँदै रहने हो । त्यसैले शून्यता खाली र रित्तोपन हैन अपितु परिपूर्णताको खानी हो, जहाँ कल्प कल्पान्तर देखिका मानव सभ्यताले आर्जित गरेका ज्ञानसागर आआफ्ना तरंगमा खात लागेर गतिशील छन् ।
सृष्टिकर्ताको गर्भ शून्य हुन्छ र सृष्टिको संज्ञान र गौरवका लागि जीवनको प्रादुर्भाव हुन्छ । शून्यता स्वयंमा एक आवश्यकता हो जसले आफूलाई आफैंले परिपूर्ण गर्दै आएको छ ।
सृष्टिको मार्ग योनी खाली छ, स्त्रीजातको गर्भ खाली छ, आकाश अंतरीक्ष खाली छ । यस खालीपनभित्र देखिने जगत् यसको गरिमा बढाउन सिर्जित हुन् । यसैले स्त्रीले जन्माएको शिशु आमाको महिमा गर्वित गर्न जन्मेको हुन्छ, ग्रह–तारादि ब्रम्हाण्डको महिमा गर्वित गर्न बन्दै जान्छन्, नाश हुन्छन् फेरी बन्छन्। यो खालीपन, यो रिक्तता मानव चैतन्यले सोच्न सकिने शूक्ष्मातिशूक्ष्म देखि अखिल ब्रम्हाण्ड सर्वत्र व्याप्त छ। मानव चेतना यसै शून्यतामा अस्तित्वमान रहन्छ । यो शून्यता नै सबथोक हो।