काठमाण्डाै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले नवनिर्मित भवनकाे एक कार्यक्रमबीच उद्घाटन गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले काठमाडौंको मीनभवनस्थित भवन उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा गभर्नर पौडेलले सहकारीहरूलाई मूल उद्देश्यबाट विचलित नहुन आग्रह गर्दै ‘सामन्ती प्रवृत्ति’तर्फ नजान सचेत गराए। उनले सहकारीको काम बचतकर्ताको पैसा संकलन गरी सहरमा जग्गा कारोबारमा केन्द्रित हुनु नभई साना बचतकर्ता र निम्न आय वर्गको आर्थिक सशक्तिकरणमा केन्द्रित हुनुपर्नेमा जाेड दिए ।
न्यून पुँजी भएका मानिसको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरूले साना ऋणमार्फत ग्रामीण जनताकाे जीवनस्तर उकास्न भूमिका खेल्नुपर्ने बताए । सहकारीहरूले सीमित व्यक्तिलाइ अर्बौं ऋण प्रवाह गर्ने भन्दापनि उत्पादनमुखी तथा आय आर्जनका क्षेत्र ऋण प्रवाह गरी दीगाे आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
जसको कोही छैन त्यसको सहारा सहकारी हुनुपर्ने मान्यता लिएर काम गर्न उनको आग्रह छ । आय आर्जन वृद्धिका लागि २–४ लाख रुपैया लगानी गरी उनीहरुको जीवनस्तर माथि उकास्ने काममा सहकारीको भूमिका आज पनि समाजमा उत्तिकै रहेको उनले बताए । हिजोका दिनमा प्रचलनमा रहेका सुके, ढ्याके ब्याजको न्यूनिकरण गरी जनतालाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्न सहकारीको शुरुवात भएको स्मरण गर्दै गभर्नर पौडेलले उदेश्यबाट विचलित नहुन आग्रह गरे । उनले सहकारीलाई अर्को सामन्तवादको रुपमा विकास नगर्न चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । मुलुकका लागि कस्ता र कति सहकारी संघसंस्था चाहिएको हो, सो विषयमा छलफल गरी यो क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजान आवश्यक रहेको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिन बन्द भएपछि बचत तथा ऋण सहकारी खोल्ने प्रवृत्ति मौलाएको र सहकारीले बैंक सरह कारोबार गर्न खोज्दा विकृति मौलाएको उनले बताए । सहकारीले कत्रो आकार र दायरामा कारोबार गर्न दिने भन्ने विषय पछिल्लो समय पेचिलो बनेको शर्माको भनाई छ । सहकारीलाई गलत ढंगले प्रयोग गर्न चाहने र संस्थाको पैसालाई पैत्रिक सम्पति सम्झने मानसिकताका कारण ठूला सहकारीमा वित्तीय संकट आएको उनको दावी छ ।
सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल लगायतले सहकारी क्षेत्रले समाजको आर्थिक, सामाजिक रुपान्तरणमा खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको आफ्नै भवन उद्घाटन गर्न पाउँदा गर्व लागेको बताए । लामो समयको प्रयास पछि साकोसहरुलाई सेवा दिन भवन बनाएको भन्दै अध्यक्ष ढकालले त्यसको परिकल्पना गर्ने पूर्व अग्रजहरुप्रति आभार प्रकट गरे । २०७७ सालमा शिलान्यास भएको उक्त भवन करिब २३ करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो। पाँचतले भवन १७ आनामा बनेको छ, जसमा दुईवटा सभा हल र दुई तला पार्किङ सुविधा रहेको नेफ्स्कूनले जनाएकाे छ।

नेपालपत्र संवाददाता