काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा बढ्दा कर्जा विस्तार भने अपेक्षाकृत सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले जनाएको हो ।
राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल निक्षेप ६.६ प्रतिशत (रु. ४८२ अर्ब १ करोड) ले बढेर रु. ७७४५ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप वृद्धि ४.३ प्रतिशत मात्र थियो। २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.६ प्रतिशत, ४४.१ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो
तर, सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ४.४ प्रतिशत (रु. २४३ अर्ब ५४ करोड) ले मात्र बढेर रु. ५७४१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा वृद्धि ६.० प्रतिशत रहेको थियो। फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत
क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।
साेअवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ । तथ्यांकले बैंकहरूमा तरलता बढ्दो अवस्थामा रहे पनि कर्जा विस्तार भने अपेक्षाअनुसार हुन नसकेको संकेत गरेको छ।
नेपालपत्र संवाददाता