शुक्रबार, कार्तिक ७ गते २०८३

प्रतिनिधि सभाकाे अधिवेशन आजदेखि सुरु हुँदै


चैत्र १९, २०८२ बिहीबार
प्रतिनिधि सभाकाे अधिवेशन आजदेखि सुरु हुँदै

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्नेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ भने राष्ट्रिय सभाको बैठक छुट्टै कक्षमा बस्नेछ।

आजको प्रतिनिधिसभा बैठकमा तीन अध्यादेश पेस गर्ने कार्यसूची छ। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्नेछन्।

बैठकको सुरुआतमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा सरकार गठनसम्बन्धी पत्रहरू पढेर सुनाउने छन्। साथै, प्रतिनिधिसभाको नियमावली नबनुन्जेल २०७९ को नियमावलीअनुसार कार्य सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

यसैगरी, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, दलीय मन्तव्य र सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची पनि रहेको छ। बैठकको अन्त्यमा केही पूर्व सांसदहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने भएकाे छ।