काठमाण्डौ । ग्लोबल आइएमई बैंकले एआई र मेसिन लर्निङ क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
बैंकका अनुसार “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६” आगामी मे २९–३१ मा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूले मे ४ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
प्रतियोगितामा एआई आधारित क्रेडिट प्रणाली, फ्रड डिटेक्सन, मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ र साइबर सुरक्षा समाधानजस्ता विषयमा अवधारणा प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारसँगै बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ।
बैंकले यस्तो कार्यक्रमले डिजिटल बैंकिङ सेवामा नवीन समाधान विकास र प्रविधिमैत्री वित्तीय सेवाको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपालपत्र संवाददाता