कपिलवस्तु,
कपिलवस्तुका एक वडा अध्यक्षलाई काठ तस्करीको आरोपमा गृहले छानबिन गरि कारवाही गर्न निर्देशन दिएको छ । बुद्धभूमी नगरपालिका १ का वडा अध्यक्ष तिलक बस्नेत (तेज बहादुर बस्नेत) माथि वडाका स्थानीय युवाहरु संग मिलेर काठ तस्करी गरेको र जिल्लाका सरोकारवालाहरुले कारवाही नगरेको भन्दै गृह मन्त्रालयले तत्काल छानबिन गरि कारवाही गर्न कपिलवस्तु जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृह मन्त्रालयको मिति २०७८/७/१० को पत्रानुसार बुद्धभूमी नगरपालिका १ का वडाअध्यक्ष तिलक बस्नेत र सोहि स्थान बस्ने प्रमोद पोख्रेल सहितका १४/१५ जना युवाले चंघाट क्षेत्रको र राष्ट्रिय बनबाट अवैध रुपमा काठ तस्करी गरेको आरोप छ । बुद्धभूमी १ कै स्थानीयबासीहरुले जिल्लाका डिभिजन बन कार्यालय, प्रशासनमा गुनासो गर्दा सुनुवाई नभएको र त्यसपछि गृहमा पत्राचार गरेको श्रोतको भनाई छ ।
करिब एक महिना अघि आएको पत्रको कारवाही ढिलो भएको भन्दै गृहले जिल्ला प्रशासनलाई पुनः ताकेता गरेको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले छानबिन गरि प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि प्रहरी निरिक्षक विजय सिंहको नेतृत्वमा समिति गठन गरेको थियो । अनुसन्धान अधिकृत प्रहरी निरिक्षक सिंहले छानबिन चलिरहेको बताएका छन् । बन सम्बन्धि मुद्दा भएकाले प्रशासनले डिभिजन बन कार्यालयलाई कारवाहीको निर्देशन दिनुपर्नेमा प्रहरीलाई अनुसन्धान गर्न दिनु आफैमा भने आश्चर्यको विषय भएको छ । श्रोतका अनुसार बनमा भइरहेको काठ तस्करीमा आरोप पुष्टी हुने डरले वडा अध्यक्ष तिलक बस्नेतले नगर प्रमुख केशव श्रेष्ठको जोडबल लगाएर मुघ प्रहरी तर्फ र्तेस्याएर आसन्न कांग्रेस महाधिवेशनसम्म अड्काएर राख्न लगाएका छन् । तर प्रशासन श्रोतले भने बन कर्मचारी संगै काठ तस्करीमा मिलेमतो भएको आशंका लागेको हुदा प्रहरीलाई अनुसन्धान गर्न दिएको तर्क गर्दछन् ।
कांग्रेसबाट वडा नं. १ मा निर्वाचित वडा अध्यक्ष तिलक बस्नेतको नाम बन सम्बन्धि मुद्दामा जोडिएको यो पहिलो पटक भने होइन । यस अघि वीरपुर स्थित अर्घाखाँची सडक अगाडीकै राष्ट्रिय बन क्षेत्रको जग्गा विक्री प्रकरण होस या बाग्मती प्रदेश सांसद इन्द्र बानियाको चुनढुंगा खानीको ढुंगा व्यवस्थापनमा सामुदायिक बनको जग्गा जर्बजस्ती कब्जा गरि डम्पिङ्ग कार्य अधिकांशमा वडा अध्यक्षकै दबदबा रहेको छ । स्थानीयबासीहरु पटक पटक नगरपालिका र सरोकारवालाहरु समक्ष जादा समेत सुनुवाइ नभएपछि गृहले पत्राचार गरि छानबिन र कार्यवाही गर्न निर्देशन दिएको थियो । तर निर्देशन पनि पहुँचकै भरमा अलपत्र पारिएपछि स्थानीयबासीहरु पुनः न्याय पाउनेमा शंशकित छन् । आरोप सम्बन्धमा वडा अध्यक्ष बस्नेतले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले उजुरी गरिएको र यसमा कुनै सत्यता नभएको दाबी गरे । “छानबिन भए झन राम्रो, गल्ती नभएपछि किन डराउनु” बस्नेतले भने ।