प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताएका छन् । नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताएका हुन ।
उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने समेत बताए . प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको रुपमा प्रचार भएको बताएका थिए । मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मुल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताउँदै आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको जनाएका थिए । 
मेलामा १२० वटा भन्दा बढि ब्यापारिक स्टल रहने छन् । नेपाली हस्तकलालाई अनलाइनको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गराउने उद्देश्यले इकला नेपाल अनलाईन पोर्टलको उद्घाटन मेलाबाट हुनेछ । मेलामा ठूलो परिमाणमा हस्तकला निर्यात गर्ने उद्यमी र तथा उत्कृष्ट कलाकारलाई पुरस्कृत गरने भएको छ भने सीप हस्तान्तरण तथा पुस्तान्तरण सम्बन्धी विषेश कार्यक्रम रहेको जनाइएको छ ।
मेलामा जडाउ कला र प्राकृतिक रेशाजन्य कलाको जीवन्त प्रदर्शनी समेत आयोजना गरिने भएको छ भने प्रतियोगितामा सहभागि हुने कलाकारलाई पुरस्कारको समेत व्यवस्था रहेको छ । मेलाको अन्य आकर्षणमा राष्ट्रिय अभिलेखालयको सहभागिता रहेको छ । अभिलेखालयमा रहेका दुर्लभ अभिलेखहरुको प्रदर्शनी समेत मेलामा गरिने भएको छ ।
कार्यक्रममा उपस्थित सहभागिलाई स्वागत गर्दै महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोना भाइरसका कारण विश्व बजारमा परेको असरका वावजुद हस्तकला निर्यातमा ठूलो कमी नआएको भन्दै यस्ता कार्यक्रमले आन्तरिक र बाह्य दुवै क्षेत्रमा हस्तकला प्रवद्र्धनलाई सहयोग पुग्ने अपेक्षा गरे ।
कोभिड १९ को जोखिम कायमै रहेकोले सतर्कता अपनाउँदै गर्न लागिएको र करिब १ लाख आगन्तुक आउने लक्ष्य लिएको मेलाका संयोजक रवीन्द्र शाक्यले जानकारी दिए । व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।