युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई शैक्षिक प्रमाणपत्रभन्दा पनि काम गर्ने सिप र रोजगारीसँग जोड्ने अवसर दिनुपर्नेमा जोड दिएका छन्। आइतबार भक्तपुरमा एभरेस्ट मल्टी स्किल प्रालिको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले देशको मुख्य चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सिप र उत्पादन भइरहेको जनशक्तिबिचको ठुलो खाडल रहेको बताए । ‘तालिम केन्द्रको सफलता कति जनालाई तालिम दिइयो भन्नेमा मात्र सीमित हुनु हुँदैन। कति जनाले रोजगारी पाए, कतिले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा मापन हुनुपर्छ,’ मन्त्री यादवले भने।
यो एउटा भवनको उद्घाटन मात्र नभई युवाको भविष्य निर्माण र रोजगारीका नयाँ सम्भावना खोल्ने अभियानको सुरुवात भएको उनको भनाइ थियो । मन्त्री यादवले युवाहरूलाई सिप सिक्न नहिचकिचाउन र इमानदार श्रमको सम्मान गर्न आग्रह गर्दै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने र विदेश जाने युवाहरूलाई पनि दक्ष तथा सुरक्षित श्रमिकका रूपमा मात्र पठाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।
सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबिचको सहकार्य अपरिहार्य रहेको उनले औँल्याए । एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले अदक्ष श्रमिकका रूपमा बिदेसिँदा नेपाली युवाले भोग्नुपरेको दुःख र हन्डरलाई कम गर्न यस संस्थाको स्थापना गरिएको बताए। विगत २५ वर्षदेखि मलेसियामा बस्दै आएको आफ्नो अनुभव सुनाउँदै अध्यक्ष न्यौपानेले भने, ‘विदेश जाँदा वा स्वदेशमै पनि हातमा सिप र कला भएमा राम्रो तलब र अवसर पाइन्छ, तर सिप नहुँदा श्रमिकले धेरै दुःख पाउनुपर्ने अवस्था छ।’
नेपालपत्र संवाददाता