बुधबार, भाद्र ३ गते २०८३

वैदेशिक व्यापारमा विस्तार, व्यापार घाटा उच्च हुँदा अर्थतन्त्र चुनौतीमा


चैत्र ८, २०८२ आइतबार
वैदेशिक व्यापारमा विस्तार, व्यापार घाटा उच्च हुँदा अर्थतन्त्र चुनौतीमा


चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि उच्च व्यापार घाटा कारण अर्थतन्त्रमा चुनौती देखिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो ८ महिनामा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

यस अवधिमा निर्याततर्फ अझ तीव्र वृद्धि देखिएको छ । निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र थियो। यद्यपि निर्यात बढे पनि व्यापार घाटा अझै ठूलो छ । ८ महिनामा व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.२२ प्रतिशतले बढी हो। निर्यातको वृद्धि पर्याप्त नभएकाले व्यापार घाटा झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ 

कुल वैदेशिक व्यापार (आयात र निर्यातको योग) १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्ष यो १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ थियो। यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ७.२४ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.७५ मा झरेको छ, जसले निर्यातको हिस्सा केही बलियो बन्दै गएको संकेत गर्दछ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा सीमित भएको छ।