शनिबार, कार्तिक ८ गते २०८३

सार्वजनिक ऋणको भारमा सरकारः २८ खर्ब ७८ अर्ब माथि पुग्यो


चैत्र ३, २०८२ मंगलबार
सार्वजनिक ऋणको भारमा सरकारः २८ खर्ब ७८ अर्ब  माथि पुग्यो

चालु आर्थिक वर्षको आठ महिनामा सार्वजनिक ऋणको आकार  दुई खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार फागुन मसान्तसम्ममा सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा दुई खर्ब चार अर्ब २४ करोड रुपैयाँ थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७ दशमलव १३ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५६.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ ।   

फागुन मसान्तसम्म सरकारले दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ९४ अर्ब १९ करोड रुपैयाँ र ब्याज वापत ४८ अर्ब छ करोड ९१ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा फागुन मसान्तसम्ममा बढेर १३ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २२ दशमलव ०७ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले दुई खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा एक खर्ब ६३ अर्ब ७७ करोड बराबर ऋण तिरेको छ ।

सरकारले विकास निर्माण र चालु खर्च धान्नका लागि आन्तरिक ऋणमा भर परेको कार्यालयको तथ्यांकले देखाएको छ । ऋणको आकार जीडीपीको ४७ प्रतिशत पुग्नुले आगामी दिनमा साँवा–ब्याजको भुक्तानीको चाप सरकारी ढुकुटीमा अझै बढ्ने देखिएको छ । त्यस्तै, फागुन मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रुपैयाँ छ । गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो । 

यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा ३० अर्ब ४२ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ५६ अर्ब ८० करोड तीन लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २५ दशमलव ०६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत हो ।  जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ६७.३१ र २४.३१ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१.१० र १८.९० प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो ।