काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा अनिश्चितता बढिरहेका बेला नेपाल आयल निगम लिमिटेडले इन्धन तथा एलपी ग्यास अनावश्यक रूपमा सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ। यता केहि समयअघि देखि नै ग्यास पाउन ढिलाइ भाेगिरहेका उपभाेक्ता भने सिलिण्डर लिएर लाम लाग्न थालेका छन् । पछिल्लाे पटक भारतले गरेकाे नाकाबन्दी भाेगेका कतिपयले भने पछि ग्यास पाउन असहज हाेला कि भन्दै बेलैमा इन्धनकाे जाेहाे गर्न खाेजेकाे देखिन्छ।
निगमले भने बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नभएको स्पष्ट पारेको छ। यद्यपि विश्वका केही देशहरूले पेट्रोलियम पदार्थको प्रयोग र वितरणमा सतर्कता अपनाइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपभोक्तालाई संयमित प्रयोग गर्न अनुरोध गरिएको निगमले जनाएको छ।
निगमका अनुसार नेपाल पूर्ण रूपमा पेट्रोलियम पदार्थ आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय परिस्थितिले प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै इन्धनको अनावश्यक खपत कम गर्न आग्रह गरिएको हो। निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्रै पेट्रोलियम पदार्थ र ग्यास खरिद तथा प्रयोग गर्न, अनावश्यक रूपमा भण्डारण नगर्न र मासिक एक सिलिन्डर ग्यास प्रयोग हुने अवस्थामा थप सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
यसैगरी ग्यासको सट्टा सम्भव भएसम्म विद्युत् प्रयोग बढाउन, सवारी प्रयोगमा ‘राइड सेयरिङ’ अपनाउन तथा विद्युत्का लागि डिजेल जेनेरेटर जस्ता उपकरण अनावश्यक रूपमा प्रयोग नगर्न पनि निगमले सुझाव दिएको छ। निगमले उपभोक्तालाई संयमित प्रयोग र अनावश्यक सञ्चय नगरी इन्धन तथा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।
तर अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरिएको, बजारमा कृत्रिम अभाव सिर्जना गरिएको वा नयाँ सिलिन्डरको अवैध बजारीकरण गरिएको पाइएमा नेपाल सरकारको कानुन अनुसार कारबाही गरिने निगमले चेतावनी दिएको छ।
नेपालपत्र संवाददाता