काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा आपूर्ति अवरोधको जोखिम बढेपछि तेलको मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेको हो।
आक्रमण सुरु हुनुअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तुलनात्मक रूपमा स्थिर थियो। मार्च ७ आसपास ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल करिब ९२ डलर र अमेरिकी डब्ल्यूटीआई करिब ९० डलर आसपास कारोबार भइरहेको थियो।
तर इरानसँगको द्वन्द्व तीव्र बनेपछि बजारमा तीव्र उतारचढाव देखियो। मार्च ९ सम्म आइपुग्दा ब्रेन्ट कच्चा तेलको मूल्य बढेर १०८ देखि ११८ डलर प्रतिव्यारेलसम्म पुगेको छ भने अमेरिकी डब्ल्यूटीआई पनि ११० डलरभन्दा माथि पुगेको छ।
विशेषगरी विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्येमा जहाज आवतजावत प्रभावित भएपछि बजारमा आपूर्ति संकटको चिन्ता बढेको छ। विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले मूल्यमा तत्काल प्रभाव पारेको विश्लेषकहरू बताउँछन्।
द्वन्द्वका कारण इरानका केही ऊर्जा संरचनामा आक्रमण हुनुका साथै खाडी क्षेत्रका केही उत्पादक देशहरूले उत्पादन कटौती गर्न थालेपछि बजारमा ‘जोखिम प्रिमियम’ थपिएको छ। यसको प्रभावस्वरूप तेलको मूल्य केही दिनमै करिब १५–२० प्रतिशतसम्म उकालो लागेको अन्तर्राष्ट्रिय बजार विश्लेषणले देखाएको छ।
यसरी मध्यपूर्वमा बढ्दो युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउँदै लगेको छ। द्वन्द्व लम्बिएमा कच्चा तेलको मूल्य अझै बढ्ने र त्यसले विश्वव्यापी मुद्रास्फीति तथा आर्थिक गतिविधिमा थप दबाब सिर्जना गर्ने जोखिम रहेकाे छ।
नेपालपत्र संवाददाता