काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई बुझाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्की ले प्रतिवेदनको अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छन्। उनका प्रेस सल्लाहकार राम रावलका अनुसार सरकारले प्रतिवेदनको विस्तृत अध्ययनपछि त्यसअनुसार थप कदम चाल्नेछ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन गरिएको आयोगले तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि प्रतिवेदन बुझाएको हो।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार गठन भएसँगै असोज ५ गते आन्दोलनका घटनाबारे सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य छन्।
नेपालपत्र संवाददाता