काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार साँझ सम्पन्न भएसँगै देशका विभिन्न स्थानमा आजैबाट मतगणना सुरु हुने तयारी गरिएको छ भने केही निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन र व्यवस्थापनका कारण भोलिबाट मात्र मतगणना सुरु हुने भएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगको प्रारम्भिक अनुमानअनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा कम हो।
‘मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भयो,’ प्रेस ब्रिफिङमा भण्डारीले भने, ‘देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। केही स्थानमा मतदान प्रक्रिया अझै जारी भएकाले यो प्रतिशत केही बढ्न सक्छ।’
यस निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए। आयोगका अनुसार देशभर २३ हजार ११२ मतदान केन्द्र र १० हजार ९६७ मतदानस्थल तोकिएका थिए।
आजै मतगणना सुरु हुने तयारी
निर्वाचन सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सम्बन्धित मतगणना स्थलमा पुर्याउने काम सुरु भएको छ। यातायात र दूरी सहज भएका जिल्लामा भने आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
विशेषगरी सदरमुकाम नजिक रहेका निर्वाचन क्षेत्र तथा शहरी क्षेत्रका मतपेटिका छिटो संकलन हुने भएकाले त्यस्ता स्थानमा आजै सर्वदलीय बैठकपछि मतगणना प्रारम्भ हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।
दुर्गम क्षेत्रमा भोलिबाट मात्र
तर हिमाली र दुर्गम भौगोलिक क्षेत्र भएका जिल्लाहरूमा भने मतपेटिका सुरक्षित रूपमा संकलन गरी गणना केन्द्रमा ल्याउन समय लाग्ने भएकाले अधिकांश स्थानमा भोलि बिहानदेखि मात्रै मतगणना सुरु हुने सम्भावना रहेको छ।
कतिपय ठाउँमा हेलिकप्टर वा पैदलमार्फत मतपेटिका ल्याउनुपर्ने अवस्थाका कारण पनि मतगणना ढिलाइ हुन सक्ने बताइएको छ।
अघिल्लो निर्वाचनभन्दा कम सहभागिता
निर्वाचन आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो, जसमध्ये १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएका थिए। यसपटक मतदाता संख्या बढेको भए पनि मतदान प्रतिशत भने अपेक्षाभन्दा कम देखिएको विश्लेषण गरिएको छ।
अनुसार मतदातामा देखिएको निराशा, राजनीतिक दलप्रतिको असन्तुष्टि तथा वैदेशिक रोजगारीका कारण ठूलो संख्यामा मतदाता बाहिर हुनुजस्ता कारणले मतदान प्रतिशत घटेको हुन सक्ने आँकलन गरिएको छ।
नेपालपत्र संवाददाता