काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा विगतका निर्वाचनको तुलनामा अपेक्षाकृत कम मत खसेको देखिएको छ। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म देशभर जम्मा ३९ प्रतिशत मात्र मतदान भएको छ, जुन अघिल्ला चुनावहरूको सोही समयको तुलनामा कम मानिएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा रहेका १० हजार ९६७ मतदानस्थलमा बिहानदेखि मतदान प्रक्रिया जारी छ। कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ जनाले मताधिकार प्रयोग गरेका छन्। प्रदेशगत रूपमा हेर्दा केही क्षेत्रमा अपेक्षाकृत राम्रो सहभागिता देखिए पनि समग्रमा मतदाता उपस्थितिमा उत्साह कम देखिएको आयोगले जनाएको छ।
कोशी प्रदेशमा दिउँसो ३ बजेसम्म करिब ५८ प्रतिशत मत खसेको छ। यस प्रदेशमा २८ निर्वाचन क्षेत्रमा एक हजार ९०७ मतदानस्थल रहेका छन्। काठमाडौँ उपत्यकामा भने ५१ प्रतिशत मतदान भएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ५२७ मतदानस्थलबाट मतदान जारी छ। मधेस प्रदेशमा ५४ प्रतिशत मतदान भएको छ। यहाँ ३२ निर्वाचन क्षेत्रमा दुई हजार १६० मतदानस्थल रहेका छन्।
बागमती प्रदेशमा ५३ प्रतिशत मत खसेको छ भने यहाँ १८ निर्वाचन क्षेत्र र एक हजार २८८ मतदानस्थल छन्। त्यस्तै गण्डकी प्रदेशमा ४१ प्रतिशत, लुम्बिनी प्रदेशमा ३८ प्रतिशत, कर्णाली प्रदेशमा ४२ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
निर्वाचन अधिकारीहरूका अनुसार मतदान शान्तिपूर्ण रूपमा जारी रहे पनि केही स्थानमा मतदाताको उपस्थितिमा कमी देखिएको छ।
नेपालपत्र संवाददाता