आइतबार, आश्विन १८ गते २०८३

सबै जिल्लामा निर्वाचनकाे तयारी पूरा, सुरक्षा मजबुतः गृह मन्त्रालय


फाल्गुण २०, २०८२ बुधबार
सबै जिल्लामा निर्वाचनकाे तयारी पूरा, सुरक्षा मजबुतः गृह मन्त्रालय

गृह मन्त्रालयले फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमार्फत निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

गृह मन्त्रालयमा करिब तीनघण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको थियाे ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था र केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलमा पुगेको जानकारी दिएका थिए ।