आइतबार, आश्विन १८ गते २०८३

आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाइ सरकारको निर्देशन


फाल्गुण १९, २०८२ मंगलबार
आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाइ सरकारको निर्देशन

 

काठमाडौँ । खाडी क्षेत्रमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताबीच आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षतामा बसेको बैठकमार्फत बजारमा कृत्रिम अभाव हुन नदिन, मौज्दात पर्याप्त राख्न र वितरण प्रणाली नियमित सञ्चालन गर्न सम्बद्ध संस्थाहरूलाई स्पष्ट निर्देशन दिएको हो।

बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पेट्रोलियम पदार्थ, खाद्यान्न र नुनको मौज्दात अद्यावधिक गरी पर्याप्त भण्डारण राख्न र वितरणमा अवरोध नआउने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए। निर्वाचनको अवधिमा बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागलाई पनि निर्देशन दिइएको छ।

इन्धन आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत डिपो सञ्चालन गर्ने र आइओसीसँग समन्वय गरी आयात तथा वितरण थप व्यवस्थित गर्न निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै, आयात–निर्यात प्रक्रिया सार्वजनिक बिदामा समेत सञ्चालन गर्न सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको छ। बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, इरानमाथिको आक्रमणले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा तत्काल असर नपर्ने नेपाल आयल निगमले स्पष्ट पारेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार आइओसीसँग तीन महिनासम्मका लागि क्रुड आयल भण्डारण रहेको र अन्य देशबाट समेत आयात हुने भएकाले अभाव नहुने जनाइएको छ। निगमसँग हाल १० देखि १५ दिनसम्म पुग्ने इन्धन मौज्दात रहेको र पाइपलाइनमार्फत नियमित आयात भइरहेकाले युद्धको प्रत्यक्ष असर तत्काल नपर्ने बताइएको छ।

निर्वाचनका कारण सार्वजनिक बिदा र सम्भावित बन्दको आशङ्काले आइतबार उपत्यकाका पेट्रोल पम्पमा देखिएको लामो लाइनलाई निगमले मनोवैज्ञानिक प्रभावका रूपमा व्याख्या गरेको छ। निगमले सार्वजनिक बिदामा समेत डिपो खुला गरी वितरण नियमित राख्ने जनाएको छ।