काठमाण्डाै । नेपाली सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सम्बद्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गर्दै आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
जंगी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रेषित विज्ञप्ति अनुसार निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण गतिविधि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ र प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुरूप सञ्चालन भइरहेका छन् ।
विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान समापन भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, राजनीतिक दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेना सम्मिलित एकीकृत टोलीले मतपेटिका मतगणना स्थलसम्म ढुवानी गर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा जनाइएअनुसार वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि हालसम्म सम्पन्न सबै निर्वाचनमा नेपाली सेना परिचालन हुँदै आएको छ। सो क्रममा मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिमा तेस्रो घेराको सुरक्षा प्रदान गर्ने तथा निर्वाचन समापनपछि संयुक्त टोलीमार्फत मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी नेपाली सेनाले निर्वाह गर्दै आएको सेनाले स्पष्ट पारेको छ।
नेपालपत्र संवाददाता