काठमाडौं। अमेरिका, इजरायल र इरानबीच चर्किएको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न मुलुकहरूमा सुरक्षा अवस्था अस्थिर बनेपछि नेपाल सरकारले त्यहाँ रहेका करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कदम अघि बढाइरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत शनिबारदेखि सुरु भएको इजरायल–इरान द्वन्द्व र त्यसमा अमेरिकाको संलग्नतापछि उत्पन्न परिस्थितिलाई नजिकबाट नियालिरहेको र नेपाली नागरिकको सुरक्षाका लागि बहुआयामिक तयारी थालिएको जानकारी दिएको हो।
‘नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकता’
मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा भने, “मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ। त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन् र निरन्तर निगरानी भइरहेको छ।”
उनका अनुसार इरानले इजरायलमा आक्रमण गरेसँगै कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, ओमान र कतारलगायत देशमा रहेका अमेरिकी सैन्य आधारहरूमा समेत आक्रमण भएपछि ती क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार थप संवेदनशील बनेको हो।
मन्त्रालयले आपतकालीन अवस्थामा छिटो निर्णय र समन्वयका लागि र्यापिड एक्शन टिम (आरएटी) गठन गर्ने तयारी भइरहेको जनाएको छ। साथै, मध्यपूर्व र आसपासका क्षेत्रमा रहेका नेपालका १० वटै कूटनीतिक नियोग ले नेपाली नागरिकका लागि निरन्तर सुरक्षा एड्भाइजरी जारी गरिरहेका छन्।
हालसम्म द्वन्द्व प्रभावित क्षेत्रमा कुनै पनि नेपाली नागरिक हताहत नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली कामदार तथा नागरिकलाई:
-
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन
-
स्थानीय सुरक्षा निकाय र नेपाली दूतावाससँग सम्पर्कमा रहन
-
अफवाहबाट नआत्तिन
-
समस्या परे तत्काल नियोगलाई जानकारी गराउन आग्रह गरेको छ।
ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको हकमा भने हालसमम सम्बन्धित एयरलाइन्स नै जिम्मेवारी लिने जानकारी प्राप्त भएकाे मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले द्वन्द्वमा संलग्न सबै पक्षलाई संयम अपनाउन, कूटनीति र वार्ताको माध्यमबाट समस्या समाधान गर्न तथा संयुक्त राष्ट्र संघको भावना र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ।
मन्त्रालयले खाडी क्षेत्रमा ठूलो संख्यामा नेपाली कार्यरत रहेकाले भविष्यमा उद्धार (रेस्क्यु) र सुरक्षित स्थानान्तरण (इभ्याकुएसन) का लागि स्थायी संरचना स्थापना गर्ने नीतिगत निर्णय आवश्यक रहेको पनि औँल्याएको छ।
परराष्ट्र मन्त्रालयले घटनाक्रमको विकासअनुसार थप कदम चालिने स्पष्ट पार्दै विदेशमा रहेका नेपालीका आफन्तहरूलाई नआत्तिन र आधिकारिक स्रोतबाट आउने सूचनामा मात्र भर पर्न अनुरोध गरेको छ।
कुन देशमा कति नेपाली
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मध्यपूर्व र आसपासका देशहरूमा रहेका नेपाली नागरिकको संख्या यसप्रकार छः
-
इरान: १० (४ जना स्वदेश फर्किसकेका, ६ जना त्यहीं)
-
इजरायल: करिब ६ हजार ५००
-
इजिप्ट: ५००
-
ओमान: २५ हजार
-
कतार: ३ लाख ५७ हजार ९१३
-
कुवेत: १ लाख ७५ हजार
-
बहराइन: २८ हजार
-
साउदी अरब: ३ लाख ८४ हजार ८६५
-
युएई: करिब ७ लाख
-
लेबनान: १ हजार ५००
-
इराक: ३० हजार
-
साइप्रस: १७ हजार
नेपालपत्र संवाददाता