काठमाण्डाै। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् । यसै सन्दर्भमा निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गर्दै त्यसपछि मौन अवधि सुरु हुने स्पष्ट गरेको छ ।
आयोगको निर्णयअनुसार फागुन १८ गते मध्यराति १२ बजेपछि कुनै पनि किसिमका चुनावी सभा, जुलुस, प्रचार सामग्री वितरण, सामाजिक सञ्जालमार्फत मत माग्ने कार्य लगायत गतिविधि पूर्ण रूपमा निषेध हुनेछ । मौन अवधिमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार मौन अवधिमा निषेध गरिएका गतिविधि हुन नदिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय बनाइने आयोगले जनाएको छ । कतै आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यी निर्णय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको जानकारी दिनुभएको छ ।
यसैबीच मतदानलाई सुरक्षित र व्यवस्थित बनाउन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय पनि गरेको छ । एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकाय, विद्युत्, खानेपानी, दूरसञ्चार मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचनका लागि पास प्राप्त सवारीसाधन भने सञ्चालनमा रहनेछन् ।
त्यसैगरी मतदान मितिभन्दा सात दिनअगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रचारका क्रममा मादक पदार्थ प्रयोग गरी मतदातालाई प्रभाव पार्ने सम्भावित गतिविधि रोक्न यस्तो निर्णय गरिएको आयोगको भनाइ छ ।
आयोगले मतदानका दिन देशभरका मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदाताका लागि आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको आयोगले स्पष्ट पारेको छ ।
नेपालपत्र संवाददाता