शुक्रबार, कार्तिक ७ गते २०८३

सबैभन्दा चलाख व्यक्ति त्यही हो, जसले आफैंलाई महिनाको कम्तिमा एकपटक बेवकुफ भन्दछ.... : फ्योदोर दोस्तोएव्स्की


फाल्गुण १४, २०८२ बिहीबार
सबैभन्दा चलाख व्यक्ति त्यही हो, जसले आफैंलाई महिनाको कम्तिमा एकपटक बेवकुफ भन्दछ.... : फ्योदोर दोस्तोएव्स्की
रूसी साहित्यका चर्चित मनोवैज्ञानिक उपन्यासकार फ्योदोर दोस्तोएव्स्की (१८२१–८१) ‘क्राइम एण्ड पनिशमेन्ट’ र ‘द इडियट’ जस्ता कृतिको सर्वाधिक प्रसिद्धिले सम्मानित भए। अस्तित्ववादी विषयवस्तु र मानव मनोविज्ञानमा उनको विशेष दखलले गर्दा सुपरिचितहरू माझ गहिरो प्रभाव छाड्यो । दोस्तोएव्स्की र लियो तोल्सतोए १९ औं शताब्दीका दुई महत्वपूर्ण रुसी लेखक हुन् । उनको लेखन मनोवैज्ञानिक यथार्थवाद हो । उनले सिग्मन्ड फ्रायडभन्दा निकै पहिले नै अपराध, दमन, मनोवैज्ञानिक घात जस्ता पक्षमा गहिरो विश्लेषण गरेकै कारणले फ्रायडले ‘साहित्यका उत्कृष्ट मनोवैज्ञानिकमध्ये एक’ भनेका रहेछन् ।
गत हप्ता आफ्नो पुरानो नोट भेटेपछि दोस्तोएभ्स्कीलाई फेरि पढ्ने सुर–सवार भयो !
साहित्य, दर्शन, धर्मशास्त्र र मनोविज्ञानमा पनि उनको थोरबहुत प्रभाव विश्वभरि छ । हिन्दीमा ‘क्राइम एण्ड पनिशमेन्ट’ (अपराध र दण्ड) लाई नरेश नदीमले र ‘द इडियट’ लाई मुनिष सक्सेनाले अनुवाद गरेका छन्, इन्डियन लाईब्रेरीमा पढ्ने मौका मिलेको थियो । उनले धार्मिक र नैतिक दृष्टिकोणबाट विश्वास र करुणा, मानव पीडाउपर व्यवहार गर्न आवश्यक तरिकाबारे तार्किक आग्रहलाई आफ्ना कृतिहरूमा झल्काएको पाइन्छ ।
Fyodor Dostevkky.jpg
दोस्तोएभ्स्की, मस्कोस्थित गरिबहरूको अस्पतालमा कार्यरत सर्जन (मापसेका अमली) पिता मिखाइल आन्द्रेइभिच दोस्तोएभ्स्की (१७८८–१८३९) र संस्कारी, फरासिली र भद्र आमा मारिया फ्योदोरोभ्ना नाचाएभा (१८००–३७) को, निम्नमध्यम वर्गीय परिवारमा जन्मेर हुर्केका थिए । आमा टीबीले र बाबुलाई खेतीमा काम गर्ने खेतालाले मारिदिएछ । त्यसैले उनले बाल्यकालदेखि नै दुःख, अन्याय र मानवीय कमजोरीका कथाहरू भोगे-सुने, जो कालान्तरमा उनको लेखनका विषयवस्तु वा प्रभाव बन्नपुगे ।
सुरुमा, उनी इन्जिनियर बन्ने तयारीको लागि सेन्ट पिटर्सबर्गको मिलिटरी इन्जिनियरिङ इन्स्टिच्यूटमा गए। तर साहित्यले उनलाई तान्यो । १८४६ मा प्रकाशित उनको पहिलो उपन्यास, पुअर फोक (गरिब समुदाय) ले नै उनलाई रूसी समाजमा प्रसिद्ध बनाईहाल्यो ।
१८४० मा उनको जीवनमा गम्भीर मोड आयो । उनी प्रतिबन्धित राजनीतिक पाठहरू पढ्ने र छलफलमा सहभागी भएकोले विद्रोही मतियारको रुपमा पक्राउ परे ।
उनलाई मृत्युदण्डको सजाय दिइएको थियो, तर सजायलाई तत्कालीन रुसको 'कालापानी' मानिने साइबेरियामा चार वर्षको कडा परिश्रमसहित निर्वासनमा बदलियो । सो कालखण्डमा उनीजस्तै निर्वासित भएका, अपराधी, किसान र पीडित मानिसहरूलाई नजिकबाट चिन्ने मौका पाए । यसको प्रभाव उनका कृतिहरूमा झल्कियो ।
छारेरोगबाट आजीवन पीडित, तर टीबीसहित फोक्सोको समस्याले ५९ वर्षको उमेरमा सेन्ट पिटसवर्गस्थित आफ्नै घरमा दोस्तोएभ्स्कीको निधन भयो । उनको अन्त्येष्ठीमा हजारौं मानिसको उपस्थिति थियो । करिब एक दर्जन चर्चित उपन्यास, तीनवटा लघुउपन्यास र डेड दर्जन छोटा कथाहरूका सर्जक दोस्तोएभ्स्कीको देहान्तलाई रुसको एक महत्वपूर्ण घटना मानिन्छ ।
उनका केही चर्चित भनाई :
The smartest person is the one who calls himself a fool at least once a month."
(From Somebody's Diary" (1873), as translated by Constance Garnett in Short Stories (New York : Books, Inc, 1900)
संसारमा साँचो बोल्नुभन्दा गाह्रो केही छैन र चापलुसी गर्नु जति सजिलो केही छैन
(Nothing in the world is harder than speaking the truth and nothing easier than flattery. : Crime and Punishment)
‘रसिया युरोपको दास थियो, तर एशियाको मालिक हुनेछ....’
('Russia was a slave in Europe but would be a master in Asia' : "Dilemmas of Empire 1850-1918: Power, Territory, Identity" in Journal of Contemporary History, Vol. 34, No.2,1999, pp.180)
सपना ! के हो सपना भन्या ? हाम्रो जीवननै एउटा सपना हैन र ?
(‘ A dream ! What is a dream? And is not our life a dream ?’ : The Dream of a Ridiculous Man /1877) .