आइतबार, आश्विन १८ गते २०८३

चुनावका लागि तीन दिन सार्वजनिक बिदा, अन्य बिदाले एक साता प्रभाव पर्ने


फाल्गुण १२, २०८२ मंगलबार
चुनावका लागि तीन दिन सार्वजनिक बिदा, अन्य बिदाले एक साता प्रभाव पर्ने

 

सरकारले प्रतिनिधि सभा निर्वाचनलाई सहज, व्यवस्थित र सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यसहित तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन अवधिमा तीन दिन बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै निर्वाचनलाई लक्षित गरी उक्त बिदा दिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार मतदान, मतदाता आवतजावत र सुरक्षा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले बिदा आवश्यक ठहर गरिएको हो।

यसअघि निर्वाचन आयोगले चुनावको सन्दर्भमा तीन दिन बिदा दिन सरकारलाई औपचारिक रूपमा सिफारिस गरेको थियो। आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सुझाव दिएको थियो, जसलाई सरकारले स्वीकार गरेको हो।

निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते देशभर मतदान हुँदैछ। मतदानको दिनलाई केन्द्रमा राखेर अघि–पछि बिदा दिइँदा यो पटक निर्वाचनको समयमा करिब एक सातासम्म सरकारी कार्यालय, सार्वजनिक सेवा तथा शैक्षिक संस्था आंशिक रूपमा प्रभावित हुने देखिएको छ।

यसपालि बिदाको श्रृंखला अझै लामो हुने देखिन्छ। फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराई–मधेस क्षेत्रमा होली पर्व परेको छ। त्यसपछि निर्वाचनसम्बन्धी बिदा, पुनः फागुन २३ गते शनिबार र २४ गते नारी दिवसकाे आइतबार परेकाले विदा निरन्तर पर्ने अवस्था बनेको हाे। 

निर्वाचन आयोग र गृह मन्त्रालयका अनुसार लामो बिदाका कारण अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन गरिनेछ। सुरक्षा निकाय, स्वास्थ्य सेवा, दमकल, खानेपानी, विद्युत् तथा निर्वाचनसँग प्रत्यक्ष जोडिएका कार्यालयहरू भने खुला रहनेछन्।

लामो बिदाले एकातर्फ मतदाता सहभागिता बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ आर्थिक गतिविधि र सरकारी सेवा प्रवाहमा अस्थायी असर पर्न सक्ने देखिन्छ। तथापि सरकारले लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएको स्पष्ट पारेको छ ।