आइतबार, आश्विन १८ गते २०८३

मतदाताको मनोविज्ञानसँग खेलवाड नगर्न प्रेस काउन्सिलकाे अपील


फाल्गुण १२, २०८२ मंगलबार
मतदाताको मनोविज्ञानसँग खेलवाड नगर्न प्रेस काउन्सिलकाे अपील

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै केही सञ्चार माध्यमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ र ‘सर्वेक्षण’ का नाममा मतदातालाई प्रभाव पार्ने सामग्री सम्प्रेषण भइरहेको भन्दै प्रेस काउन्सिल नेपाल ले गम्भीर आपत्ति जनाएको छ । राजनीतिक दल र उम्मेदवारको नाम नै किटान गरी ‘जित्ने’, ‘लहर आएको’, ‘डेन्जर जोनमा परेको’ जस्ता दाबी गरिएका सामग्रीले आम नागरिक दिग्भ्रमित हुनुका साथै स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामा प्रतिकूल प्रभाव पार्ने काउन्सिलको ठहर छ । यस्ता आचारसंहिता विपरीत सामग्रीलाई काउन्सिलले औपचारिक रूपमा नोटिसमा राखिसकेको जनाएको छ ।

काउन्सिलका अनुसार स्रोत नखुलाइ मत सर्वेक्षणको शैलीमा समाचार सम्प्रेषण गर्दा मतदाताको गोपनीयता भङ्ग हुने, व्यक्तिगत सुरक्षामा चुनौती सिर्जना हुने र सञ्चार माध्यमको विश्वसनीयतामाथि प्रश्न उठ्ने जोखिम बढेको छ । प्रेस स्वतन्त्रताको नाममा गरिने यस्ता सामग्रीले कसैलाई लाभ वा हानि पुर्‍याउन सक्ने भन्दै काउन्सिलले पत्रकारिता पेसाको तटस्थता, निष्पक्षता र मर्यादामा गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएको छ ।

नेपालको संविधान, प्रेस काउन्सिल ऐन २०४८ तथा निर्वाचन आयोग ऐन २०७३ अन्तर्गत बनेका आचारसंहिताको पालना गर्नु सबै सञ्चार माध्यम र पत्रकारको दायित्व भएको स्मरण गराउँदै काउन्सिलले निर्वाचन अवधिभर थप जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । आम मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत गराएको छ ।