पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण लागू गरे वार्षिक १३ करोड लिटर पेट्रोल आयात प्रतिस्थापन गर्न सकिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले त्यसबाट करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने जानकारी दिए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरू’ विषयक कार्यक्रममा मन्त्री सिन्हाले इथानोल मिश्रणलाई ऊर्जा सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे। जैविक इन्धन प्रयोगले सवारी साधनबाट हुने कार्बन उत्सर्जन घटाई वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने उनले बताए।
इथानोल उत्पादनका लागि उखु तथा अन्य कृषिजन्य कच्चा पदार्थ प्रयोग हुने भएकाले यसले चिनी उद्योगलाई चलायमान बनाउने, बाँझो जमिनको उपयोग बढाउने र किसानको आय वृद्धि गर्ने विश्वास मन्त्री सिन्हाले व्यक्त गरे। नयाँ उद्योग स्थापना र रोजगारी सिर्जनामा समेत यसले योगदान पुर्याउने उनको धारणा छ।
मन्त्री सिन्हाले इथानोल मिश्रणबारे विगत २० वर्षदेखि अध्ययन र छलफल भइरहेकाले निर्णय प्रक्रियालाई गति दिन सहज भएको बताए। मन्त्रिपरिषद्बाट स्वीकृत आदेश राजपत्रमा प्रकाशनको क्रममा रहेको उनले जानकारी दिए। कार्यक्रममा नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिका भट्टले इथानोल मिश्रण नीति लामो समयदेखि कागजमै सीमित रहेको उल्लेख गर्दै अब कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए। पेट्रोलियम उत्पादन गर्ने मुलुकहरूले समेत इथानोल मिश्रण लागू गरिसकेको अवस्थामा आयातमा निर्भर नेपालका लागि यसको आवश्यकता झनै बढेको उनको भनाइ छ।