आइतबार, आश्विन १८ गते २०८३

‘ग्लोबल मनि विक–२०२६’ मनाउन राष्ट्र बैंकको आह्वान


फाल्गुण १०, २०८२ आइतबार
‘ग्लोबल मनि विक–२०२६’ मनाउन राष्ट्र बैंकको आह्वान

 

काठमाडौं। बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ हरेक वर्ष विश्वभर मनाइँदै आएको ग्लोबल मनि विक–२०२६ नेपालमा पनि मनाइने भएको छ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै यस वर्ष पनि ग्लोबल मनि विक मनाउन सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई आह्वान गरेको छ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष मनाइँदै आएको यो विश्वव्यापी वित्तीय सचेतनामूलक अभियान आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म आयोजना गरिनेछ। यस वर्ष ग्लोबल मनि विक “स्मार्ट मनि टक्स” भन्ने नाराका साथ मनाइनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो अभियान विश्वका १७६ मुलुकमा फैलिएको छ भने ७ करोडभन्दा बढी बालबालिका तथा युवाहरू यस अभियानमा सहभागी भइसकेका छन्। नेपालमा आयोजना हुने कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रहनेछ।

त्यसैगरी, अन्य संघसंस्था तथा सरोकारवाला निकायहरू पनि यस अभियानमा आवद्ध हुन सक्ने भएकाले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था तथा निकायहरूलाई ग्लोबल मनि विक–२०२६ भव्य रूपमा मनाउन नेपाल राष्ट्र बैंकले आह्वान गरेको छ।

यस वर्षकाे थिम ‘स्मार्ट मनि टक्स’

यस वर्ष ग्लोबल मनि विक–२०२६ लाई “स्मार्ट मनि टक्स” भन्ने थिमका साथ मनाइँदैछ। यस थिमले बालबालिका तथा युवाहरूलाई पैसा कमाउने मात्र होइन, पैसाबारे बुझ्ने, सोचविचार गरेर प्रयोग गर्ने, बचत गर्ने, सुरक्षित लगानी गर्ने र डिजिटल वित्तीय सेवाहरू सचेत रूपमा उपयोग गर्ने संस्कार विकास गर्न जोड दिन्छ।

“स्मार्ट मनि टक्स” ले वित्तीय निर्णयहरू आवेगमा होइन, जानकारी, सीप र जिम्मेवारीका आधारमा गर्नुपर्ने सन्देश प्रवाह गर्दछ। बढ्दो डिजिटल कारोबार, अनलाइन भुक्तानी, मोबाइल बैंकिङ, डिजिटल ऋण तथा लगानीका विकल्पहरूबीच युवापुस्ताले सही र सुरक्षित वित्तीय व्यवहार अपनाउनुपर्ने आवश्यकता झन् बढेकाले यस थिमलाई विशेष महत्वका साथ अघि सारिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस थिमअन्तर्गत बचतको महत्व, ऋणको जिम्मेवार प्रयोग, वित्तीय जोखिमको पहिचान, ठगी तथा अनलाइन वित्तीय अपराधबाट जोगिने उपाय, साथै दीर्घकालीन वित्तीय योजना जस्ता विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसले वित्तीय साक्षरतामार्फत आत्मनिर्भर, सचेत र जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसरी “स्मार्ट मनि टक्स” थिमले पैसासँगको सम्बन्धलाई बुद्धिमत्ता, संवाद र सचेतनासँग जोड्दै बालबालिका तथा युवाहरूलाई आजको वित्तीय प्रणालीसँग सुरक्षित र सक्षम रूपमा जोड्ने लक्ष्य लिएको छ।