तिम्रो जीवन कथा
रोमाञ्चित होला
सुखै सुखले भरिएको
म सुनाउँछु तिमीलाई
मेरो जीवन कथा
दुःखै दुखले जेलिएको ।
प्रसव पीडाले छटपटिएर
म पैदा भए पछि
मरेकी हुन् रे मेरी आमा
आमाको काजकिरिया गर्ने
रुपयाँ नभएर
खहरे खेत डीक राखी
ऋण लिएका हुन रे मेरा बाले
मलाई थाहा छैन
मेरो आमाको अनुहार
एउटा घुरमैलो तस्विर देखाएर
मेरा बा
हरेक विहान फूल चढाउन लाउँछन
तेरी आमा त्यहि हो भनी ।
मलाई थाहा छैन
फूल किन चढाउने ?
म जिज्ञासा राख्छु
आमाले मुक्ति पाउँछिन रे
मैले नित्य फूल चढाउँदा ।
मैले जान्दा
म गोठालो थिएँ जेठा साहुको
वस्तु बाख्रा चराउने
बा जेठा साहुकै मेला जान्थे
हात मुख जुटाउन ।
जब साँझ पर्थ्याे
खोलेफाँडो पकाउँथे बा’ले
सिल्वरे थालमा थापी
चाटिचुटी खान्थेँ मैले
भात खाने औकात थिएन
भात खानलाई
चाड पर्व कुर्नु पर्थ्याे
साहुको ढिकी कुटी
बा’ले चामल ल्याउँथे
म पुलकित भै
आँगनमा उफ्रिदिन्थेँ
धने, आज अघाउँजी भात खानु पर्छ
बाले ढाडस दिन्थे ।
एक दिन मैले
पाठशाला हा’ल्देउ बा भने
झुत्रो टोपी
चाउरी अनुहार
कन्सिरी कन्याउँदै
शिर घोप्टो पारी
साहु महाजनको पाठशालामा
तैंले पढ्न हुन्न भने ।
बाको उत्तर सुने पछि
मन भाँच्चियो
आँखाबाट आँसु झारे
सानै थिएँ
तर प्रतिशोधको आगो दन्कियो
जेठा साहु !
म हेर्ने छैन तिम्रा बाख्रा
म सहने छैन
तिम्रो ज्यादति
तिमी विरुद्ध गाउँले उठाई
तिमीलाई कठघरामा हाले पछि
म पढ्नेछु
तिमीले खोेलेकै पाठशालामा ।