काठमाडौं । नेपाल राष्ट्र बैंकले एन आई सी एशिया बैंकका पूर्व अध्यक्ष तुलसीराम अग्रवाल र पूर्व सीइओ राेशन कुमार न्याैपानेलाइ जनही २ लाख रूपैया जरिवाना गरेकाे छ । नियामकीय निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै ३ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक निरीक्षण तथा सुपरिवेक्षणका क्रममा कमजोरी देखिएपछि उक्त कारबाही गरेको जनाएकाे छ । राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह, जोखिम व्यवस्थापन, वित्तीय विवरण प्रकाशन तथा कोर बैंकिङ सम्बन्धी मापदण्डको पालना नगरेको पाइएपछि सम्बन्धित बैंक तथा पदाधिकारीलाई सचेत गराउँदै जरिवाना गरिएको हो।
कारबाहीमा परेका वाणिज्य बैंकहरू एन आई सी एशिया सहित ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । निरीक्षणका क्रममा ती बैंकहरूबाट राष्ट्र बैंकबाट जारी निर्देशनको पटक–पटक उल्लङ्घन भएको, वित्तीय विवरण तथा सूचनाको सही र समयमै प्रकाशन नगरेको, कर्जा वर्गीकरण र जोखिम व्यवस्थापनमा कमजोरी गरेकाे, ब्याजदर अन्तर तथा पुनर्तालिकीकरणसम्बन्धी मापदण्ड पालना नगरेकाे तथा काेर बैंकिङ सफ्टवेयरमा समस्या रहे पनि सुधार नगरेकाे जस्ता कमजोरीहरू देखिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (तेस्रो संशोधन २०७३ सहित) को दफा १०० अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताएकाे छ । एन आई सी एशिया बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई प्रति व्यक्ति २ लाख रुपैयाँका दरले कुल ४ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई कमजोरी सच्याउन निर्देशन दिँदै कडा रूपमा सचेत गराइएको छ।
राष्ट्र बैंकले आगामी दिनमा पनि यस्ता कमजोरी दोहोरिएमा थप कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा व्यवस्थापन, सूचना प्रणाली, पारदर्शिता र नियामकीय अनुशासनमा विशेष ध्यान दिन निर्देशन दिएको छ।
नेपालपत्र संवाददाता