आइतबार, आश्विन १८ गते २०८३

५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे


माघ २८, २०८२ बुधबार
५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। ती जिल्लाका मतपत्रको प्याकिङसमेत पूरा भइसकेको जानकारी उनले दिए।

मतपत्र छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रूपन्देही र रोल्पा रहेका छन्। दैनिक रूपमा करिब एक हजार बाकस प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगको भनाइ छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीअन्तर्गतका मतपत्र छपाइ भइरहेको छ। मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। त्यसैगरी, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेको र माघ १६ गते बिहानदेखि सोतर्फको मतपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ।