राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति र पदको आडमा कसैलाई पनि कानुनी जवाफदेहीताबाट मुक्त हुन नदिने स्पष्ट सन्देश आम नागरिकमा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताए। आयोगले अझ प्रभावकारी ढंगले काम गर्दै शक्ति र पद भएका व्यक्तिहरू पनि कानुनभन्दा माथि हुँदैनन् भन्ने विश्वास नागरिकमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले भ्रष्टाचारले राज्य र नागरिकबीचको भरोसा कमजोर बनाउने भन्दै सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा लोकतन्त्र र कानुनप्रतिको आस्था क्षीण हुने उल्लेख गरेका हुन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अख्तियार दुरुपयोगको अन्त्य अपरिहार्य रहेको उनको भनाइ थियो। भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष न्याय, समानता र सुशासनको पक्षमा उभिने साझा प्रयास भएको उल्लेख गरे ।
नेपालपत्र संवाददाता