आइतबार, आश्विन १८ गते २०८३

इजरायल रोजगारीमा जाने नेपालीको संख्या बढ्याे


माघ २७, २०८२ मंगलबार
इजरायल रोजगारीमा जाने नेपालीको संख्या बढ्याे

 

काठमाडौं । पछिल्लो समय इजरायलमा युद्धको त्रास कम हुँदै जाँदा त्यहाँ रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । विशेषगरी दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा रोजगारीका अवसर खुलेसँगै प्रतीक्षा सूचीमा रहेका नेपाली युवालाई इजरायल पठाउने प्रक्रिया तीव्र बनेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार दोस्रो चरणको रोस्टरमा रहेका दुई हजार ११२ जनामध्ये माघ १५ गतेसम्म एक हजार तीन सय नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् । छनोट भएर जान बाँकी करिब ७५० जना पनि क्रमशः करार सम्झौताको प्रक्रियामा छन् । यसमध्ये ८४ जनाको केही दिनभित्रै उडान तय भइसकेको हुँदा इजरायल प्रवेश गर्ने नेपालीको संख्या एक हजार ३८४ पुग्ने विभागको अनुमान छ ।

यसअघि इजरायल–हमास युद्ध र त्यसपछि बढेको क्षेत्रीय तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाप्रति गम्भीर चासो बढेको थियो । सोही कारण नेपालबाट नियमित रूपमा श्रमिक पठाउने प्रक्रिया प्रभावित बनेको थियो । तर पछिल्लो समय इजरायल र इरानबीचको तनाव कम भएसँगै रोजगारी आप्रवाह पुनः सामान्य बन्दै गएको विभागले जनाएको छ ।

दोस्रो चरणमा माग अझै बढी

विभागका अनुसार इजरायलले पहिलो चरणको तुलनामा दोस्रो चरणमा केयर गिभरका लागि नेपाली युवाको माग अझै बढाएको छ । दोस्रो चरणका एक हजार ११२ जनामध्ये बाँकी रहेका श्रमिकसँग करार सम्झौता सुरु भइसकेको र स्वास्थ्य परीक्षणसमेत धमाधम भइरहेको विभागले जनाएको छ ।

हाल इजरायलमा जिटुजी (सरकार–सरकार) प्रक्रियामार्फत गएका श्रमिकसहित करिब दुई हजार ३८४ नेपाली कार्यरत छन् । इजरायलका विभिन्न दीर्घकालीन स्याहार केन्द्र (वेताबोद) मा विदेशी श्रमिकको अभाव बढ्दै गएपछि नेपाली केयर गिभरप्रति त्यहाँको निर्भरता अझै बढेको देखिन्छ ।

आकर्षक आम्दानी

आम्दानीका हिसाबले इजरायल नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिँदै आएको छ । केयर गिभरका रूपमा कार्यरत श्रमिकले तुलनात्मक रूपमा सुरक्षित वातावरण र स्थिर आय पाउने भएकाले रोजगारीको चाहना बढ्दै गएको विश्लेषण छ । यससँगै इजरायलबाट नेपाल भित्रिने विप्रेषण रकमसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

इजरायल सरकारले नेपाली श्रमिकको माग संख्या वार्षिक रूपमा बढाउँदै नयाँ केयर सेन्टरहरूमा रोजगारी दिने जनाएको छ । हाल नेपाली श्रमिकलाई वृद्धा आश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइएको छ । साथै, केयर गिभरबाहेक कृषि क्षेत्रमा पनि एक हजार नेपाली लैजाने आश्वासन इजरायलले दिँदै आएको छ ।

सतर्कता आवश्यक

यद्यपि रोजगारीका अवसर बढ्दै जाँदा श्रमिकको सुरक्षा, मनोसामाजिक अवस्था र आपतकालीन व्यवस्थापनप्रति भने राज्यस्तरमै निरन्तर सतर्कता आवश्यक देखिन्छ । विगतको युद्ध अनुभवले देखाएको जोखिमलाई मध्यनजर गर्दै श्रमिक पठाउने प्रक्रियामा सुरक्षा मूल्यांकन, बीमा र कूटनीतिक समन्वयलाई थप मजबुत बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

समग्रमा, इजरायलमा युद्धको त्रास कम हुँदै जाँदा रोजगारीका अवसर विस्तार भएको छ भने त्यसले नेपाली युवालाई नयाँ सम्भावना दिएको छ । तर अवसरसँगै सम्भावित जोखिमको व्यवस्थापन र श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्नु अबको मुख्य चुनौती बनेको छ ।