आइतबार, आश्विन १८ गते २०८३

आर्थिक सहयोग बैंकमार्फत् गर्न व्यवसायीलाई आयोगको आग्रह


माघ २६, २०८२ सोमबार
आर्थिक सहयोग बैंकमार्फत् गर्न व्यवसायीलाई आयोगको आग्रह

काठमाण्डाै । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई दिइने आर्थिक सहयोग र चन्दालाई पूर्ण रूपमा पारदर्शी बनाउन  आग्रह गरेको छ । उद्योगी–व्यवसायीहरुलाई आयोगमा बोलाई  सबै कारोबार बैंक खातामार्फत गर्न आग्रह गरेको हो । आयोगको कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलगायत उद्योगी–व्यवसायीलाई बोलाएर आयोगका पदाधिकारीहरूले चन्दा दिँदा बैंक खाताबाटै भुक्तानी गर्न अनुरोध गरे । २५ हजार रुपैयाँभन्दा कम सहयोग दिनुपरेमा समेत अनिवार्यरूपमा रसिद लिन–दिन आग्रह गरिएको छ।

निर्वाचन आयोगले केही दिनअघि नै राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था लागू गरिसकेको छ। सो कार्यविधिअनुसार उम्मेदवारहरूले खाताबाहिर नगद कारोबार गर्न पाउने छैनन् । यसले चुनावी खर्च र आम्दानीको स्पष्ट लेखाजोखा गर्न सहयोग पुग्ने आयोगको अपेक्षा छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटक आर्थिक सहयोग र चन्दालाई अझै पारदर्शी बनाउने उद्देश्यले निजी क्षेत्रसँग सहकार्यको अपिल गरिएको हो ।   

उनका अनुसार आयोगले सहयोग कम्पनी वा फर्मको खाताबाट भन्दा व्यक्तिगत   खाताबाट गर्न पनि आग्रह गरेको छ।कम्पनीमार्फत गरिएको सहयोग अन्य शीर्षकमा देखाइने र पछि फरक प्रयोजनमा खर्च हुने जोखिम देखिएकाले निजी खाताबाटै भुक्तानी गर्न सुझाइएको हो।