काठमाण्डाै । बहुप्रतीक्षित नागढुंगा–नौबिसे सुरुङमार्गको भौतिक निर्माण अन्तिम चरणमा पुगे पनि यसको पूर्ण सञ्चालनका लागि अझै केही महिना कुर्नुपर्ने देखिएको छ । सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि सेवा प्रदायक कम्पनी छनोट प्रक्रिया चलिरहेकाले तत्काल सर्वसाधारणका लागि खुल्ने अवस्था नरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि नेपाली र विदेशी गरी १० कम्पनीले बोलपत्र पेस गरेका छन् । तीमध्ये एक विदेशी र एक स्वदेशी कम्पनी संयुक्त रूपमा (जोइन्ट भेन्चर) छनोट हुनेछन् । हाल ती बोलपत्रहरूको प्राविधिक मूल्यांकन भइरहेको छ ।
उनका अनुसार छनोट प्रक्रिया पारदर्शी बनाउन दुई चरणमा मूल्यांकन गरिँदैछ । पहिलो चरणमा प्राविधिक रूपमा सक्षम र योग्य कम्पनी छनोट गरिनेछ भने सफल हुने कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव खोलिनेछ । अन्ततः सबैभन्दा उपयुक्त र प्रतिस्पर्धी कम्पनीलाई सडक विभागका महानिर्देशकमार्फत छनोट गरी सम्झौता गरिनेछ । यद्यपि सुरुङमार्गको मुख्य निर्माण कार्य करिब ९९ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले पश्चिम पोर्टल (धादिङतर्फ) पहिरो रोकथाम र टोल प्लाजा निर्माणजस्ता सहायक काम मात्र बाँकी छन् ।
आयोजना प्रमुख नेपालका अनुसार बोलपत्र मूल्यांकन, कम्पनीसँग सम्झौता, आवश्यक जनशक्तिको तालिम तथा ‘ट्रायल अपरेसन’ सम्पन्न गर्न थप २ देखि ४ महिना लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र सुरुङमार्ग सर्वसाधारणका लागि औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ । सञ्चालनको जिम्मेवारी पाउने कम्पनीले सुरुङमार्गभित्रको सुरक्षा, ट्राफिक व्यवस्थापन र प्राविधिक मर्मतसम्भारको काम सम्हाल्नेछ । सरकारले सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ खर्च बेहोर्ने अनुमान गरिएको छ । टोलबाट उठ्ने सम्पूर्ण रकम भने सडक बोर्ड नेपालको खातामा जम्मा हुने र सेवा प्रदायक कम्पनीले सो रकम प्रयोग गर्न नपाउने स्पष्ट पारिएको छ ।
२४ सै घण्टा र वर्षभर सञ्चालन गर्न करिब १५० जना जनशक्ति आवश्यक पर्ने आयोजनाको अनुमान छ । यसमा सुरुङमार्ग सञ्चालनमा अनुभव भएका करिब पाँच जना विदेशी विज्ञ रहनेछन् भने बाँकी सबै नेपाली कर्मचारी हुनेछन् । २०७६ साल कात्तिकदेखि जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्गको कुल लागत करिब २३ अर्ब रुपैयाँ पुगेको छ । जाइका मार्फत लिइएको ऋण र थप लागतसहित यो आयोजना २०८३ साल वैशाख १२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।