बुधबार, भाद्र ३ गते २०८३

नयाँ होइन बलियो स्टक एक्स्चेञ्जः नेप्से पुनर्संरचनामा जाेड


माघ २१, २०८२ बुधबार
नयाँ होइन बलियो स्टक एक्स्चेञ्जः नेप्से पुनर्संरचनामा जाेड

नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने वा विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै पुनर्संरचना गरेर अघि बढ्ने भन्ने बहस चर्किरहेका बेला, नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ ले नेप्से हालकै अवस्था र संरचनामा सञ्चालन हुँदा भविष्यका अवसर उपयोग गर्न र चुनौती सामना गर्न कठिन हुने ठोस निष्कर्ष निकालेको छ।

हालै सार्वजनिक गरिएकाे प्रतिवेदन अनुसार नेप्सेको वित्तीय अवस्था सबल देखिए पनि सञ्चालक समितिको बनोट, व्यवस्थापकीय दक्षताको अभाव, आधुनिक प्रविधिको सीमित प्रयोग, लगानीका उपकरण र सेवामा विविधताको कमी तथा कमजोर संस्थागत सुशासनका कारण पूँजी बजारको अपेक्षित विकासमा नेप्से बाधक बन्दै गएको छ। अध्ययनले हालको संरचनामा सामान्य सुधार मात्र गरेर नेप्सेलाई प्रतिस्पर्धी, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्टक एक्सचेन्ज बनाउन नसकिने स्पष्ट पारेको छ।

साेही आधारमा प्रतिवेदनले नेप्सेको समग्र पुनर्संरचना अपरिहार्य रहेको उल्लेख गरिएको छ। मुख्य सुझावअनुसार नेप्सेको चुक्ता पुँजी समयसापेक्ष रूपमा वृद्धि गर्दै प्रविधि, प्रणाली र सेवामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिवेदनले नेप्सेको स्वामित्व संरचनामा समेत परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको छ। हाल सरकार र सरकारी संस्थाको अत्यधिक स्वामित्वले निर्णय प्रक्रियामा सुस्तता र व्यवसायिकताको कमी देखिएको भन्दै रणनीतिक साझेदार भित्र्याउन १५ देखि २५ प्रतिशतसम्म स्वामित्व दिन सकिने सुझाव दिइएको छ। यसबाट प्रविधि, व्यवस्थापन र नवीन लगानी उपकरण भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, दीर्घकालीन रूपमा सरकारी स्वामित्व क्रमशः विनिवेश गर्दै जाने नीति अपनाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

सञ्चालक समितिको संरचना पुनर्गठन गरी स्वतन्त्र र व्यावसायिक विज्ञहरूको बहुल्यता सुनिश्चित गर्नुपर्ने, पारदर्शी छनोट प्रक्रिया लागू गर्नुपर्ने र कार्यसम्पादनमा आधारित पारिश्रमिक व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

प्रविधिको क्षेत्रमा अनलाइन ट्रेडिङ प्रणाली, स्वचालित निगरानी प्रणाली र अन्तर्राष्ट्रिय स्तरका आधुनिक प्रविधि अपनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। साथै, हाल सीमित रहेको सेयर कारोबारलाई विस्तार गर्दै ईटीएफ, डेरिभेटिभ्स, एसएमई प्लेटफर्म, मार्जिन ट्रेडिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ, सर्ट सेलिङ जस्ता नयाँ उपकरण र सेवाहरू सुरु गर्नुपर्ने सुझाव गरिएको छ।

त्यसैगरी, संस्थागत सुशासन सुदृढ गर्दै जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, मानव संशाधन विकास र सहायक पूर्वाधारहरू (सीसीपी, राफसाफ तथा फछ्र्यौट प्रणाली) लाई मजबुत बनाउनुपर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय स्तरमा नेप्सेको विश्वसनीयता बढाउन IOSCO का सिद्धान्तको पूर्ण पालना र विश्वका अन्य स्टक एक्सचेन्जहरूसँग सहकार्य विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

समग्रमा, प्रतिवेदनले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नेभन्दा विद्यमान नेप्सेलाई व्यापक संरचनागत, प्रविधिगत र संस्थागत सुधारसहित पुनर्संरचना गर्नु नै नेपालको पूँजी बजारलाई दिगो, प्रतिस्पर्धी र आधुनिक बनाउने व्यवहारिक बाटो भएको ठहर गरेको छ।