बुधबार, भाद्र ३ गते २०८३

एलपी ग्यास अभाव छैन, आपूर्ति नियमितः नेपाल आयल निगम


माघ २०, २०८२ मंगलबार
एलपी ग्यास अभाव छैन, आपूर्ति नियमितः नेपाल आयल निगम

 

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। भारतको बरौनी रिफाइनरी केन्द्र मर्मतपछि आइतबारदेखि ग्यास ढुवानी पुनः सुरु भएकाले आपूर्ति सामान्य अवस्थामा फर्किएको निगमको भनाइ छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सोमबार मात्र ५० ग्यास बुलेट नेपालतर्फ हिँडिसकेका छन्। बरौनी केन्द्र एक साता बन्द हुँदा आयात घटेर सामान्य अभाव देखिए पनि अब समस्या समाधान भएको उहाँले जानकारी दिनुभयो। 

सामान्य अवस्थामा नेपाली बजारमा दैनिक ७० देखि ७५ बुलेट एलपी ग्यास खपत हुने गर्दछ। बरौनी रिफाइनरीबाट ग्यास आयात हुन सामान्यतया तीन दिन लाग्ने भए पनि मर्मतका कारण एक साता बन्द हुँदा आयात घटेको र त्यसकै प्रभावस्वरूप बजारमा सामान्य अभाव देखिएको निगमले जनाएको छ।

मर्मत अवधिमा टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आयात गरिएको भए पनि त्यहाँबाट नेपालसम्म आइपुग्न करिब एक हप्ता समय लाग्ने भएकाले आपूर्ति व्यवस्थापनमा दबाब परेको निगमको भनाइ छ। निगमले फेब्रुअरीका लागि थप २ हजार मेट्रिक टन ग्यास आयातको व्यवस्था गरिसकेको र अनावश्यक ग्यास संकलन नगर्न उपभोक्तालाई आग्रह गरेको छ।