बुधबार, भाद्र ३ गते २०८३

जब काठमाडौं विश्वविद्यालयको करिडोरमा ‘नयाँ राजनीति’ कुहिन थाल्छ


माघ १६, २०८२ शुक्रबार
जब काठमाडौं विश्वविद्यालयको करिडोरमा ‘नयाँ राजनीति’ कुहिन थाल्छ

विद्यावारिधिको टोपीमुनि लेनदेन
जब काठमाडौं विश्वविद्यालयको करिडोरमा ‘नयाँ राजनीति’ कुहिन थाल्छ

नेपाली राजनीतिको शब्दकोशमा ‘परिवर्तन’ एक पवित्र शब्द थियो। जब बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरमा उदाए र जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नीलो झण्डा बोकेर ‘सिन्डिकेट’ र हुनेखानेहरूको एकाधिकार अन्त्य गर्ने वाचा ग¥यो, तब यस देशका युवाहरूले सोचेका थिए— अब नातावाद र ‘आफ्नो मान्छे’ को पुराना दिनहरू अन्ततः समाप्त हुनेछन्। तर त्यो भ्रम रहेछ । यूवाहरुले पुराना भ्रमको स्थानमा नयाँ भ्रमको बोझ बोक्न चाहेका थिएनन् र चाहेका पनि होइनन् ।

तर, हालै काठमाडौं विश्वविद्यालय (केयू) मा मेयर बालेन शाहले पीएचडी (बिद्याबारिधी) गर्ने क्रममा पाएको ‘विशेष सुविधा’ र उनका सुपरभाइजर डा. राम लामालाई रास्वपाको समानुपातिक (पीआर) सूचीको माथिल्लो क्रममा राखिएको घटनाले ‘नयाँ राजनीति’ मा विश्वास गर्नेहरूको गालामा जोडदार थप्पड हानेको छ। यो केवल एउटा शैक्षिक डिग्री वा भोटको सानो काण्ड मात्र होइन, यो प्राज्ञिक मर्यादा, राजनीतिक इमानदारिता र सार्वजनिक नैतिकताको सामूहिक पतनको ऐना पनि हो।

ज्ञानको मन्दिरमा ‘ग्रिन च्यानल’: शक्तिको प्राज्ञिक श्रृंगार
काठमाडौं विश्वविद्यालयलाई नेपालको उच्च शिक्षाको अन्तिम शुद्ध भूमि मानिन्थ्यो, जुन आफ्नो कठोर अनुशासन र गैर–राजनीतिक छविका लागि परिचित थियो। तर अहिले यो भूमि राजनीतिक शक्तिका लागि ‘शैक्षिक प्रमाणपत्र धुलाई केन्द्र’ (डिग्री लण्डरिङ्ग) बन्दै गएको देखिन्छ।

काठमाडौंका कार्यकारी प्रमुखको रूपमा बालेन शाहले दैनिक फोहोर व्यवस्थापन, जटिल सहरी योजना र अनन्त राजनीतिक दाउपेचको सामना गर्नुपर्छ। यस्तो व्यस्तताका बीच उनले स्ट्रक्चरल इन्जिनियरिङ जस्तो जटिल विषयमा कसरी ‘सहज’ रूपमा पीएचडी अगाडि बढाइरहेका छन् ? हाम्रो प्रश्न छः उनको अनुसन्धानका तथ्याङ्कहरू कहाँ मापन गरिए ? के उनका शोध–पत्रहरू महानगरपालिकाको बैठकका बीचमा लेखिएका हुन् ?

अझ आपत्तिजनक कुरा त डा. राम लामाको भूमिका छ। विश्वविद्यालय स्रोतका अनुसार, बालेनले छात्रवृत्ति मात्र पाएनन् (जुन आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीका लागि हुनुपथ्र्यो), उनले हाजिरीमा समेत पूर्ण छुट पाएका छन्। नेपालमा हजारौं गरिब विद्यार्थी एउटा डिग्रीका लागि प्रयोगशालामा वर्षौं पसिना बगाउँछन्, तर शक्ति हुनेहरूले आफ्नो प्रभाव प्रयोग गरेर गुरुको संरक्षणमा प्राज्ञिक पर्खाल सजिलै नाघ्छन्। यो मिहिनेती विद्यार्थीहरूको खुला अपमान हो।

डा. राम लामाको ‘राजनीतिक उपहार’: समानुपातिक सूचीको मूल्य

यदि प्राज्ञिक सहुलियत ‘गोप्य लेनदेन’ थियो भने, डा. राम लामाको नाम रास्वपाको समानुपातिक सूचीको अघिल्लो स्थानमा आउनुले यो खेललाई सार्वजनिक गरिदिएको छ।नेपालको संविधानमा समानुपातिक प्रणालीको मर्म दलित, जनजाति र सीमान्तकृत  बिल’ (इन्भ्वाइस बील) बनेको छ। वर्षौंदेखि प्राज्ञिक क्षेत्रमा रहेका र पार्टी निर्माणमा कुनै योगदान नभएका डा. लामा कुन आधारमा पुराना कार्यकर्ताहरूलाई मिचेर माथिल्लो स्थानमा परे ? प्रश्न खडा भएको छ ।

यसको एउटै स्पष्टीकरण छ : यो विद्यार्थी बालेन शाहले आफ्ना गुरुलाई बुझाएको ‘राजनीतिक गुरुदक्षिणा’ हो। बालेन रास्वपाको सदस्य नभए पनि रवि लामिछाने र उनीबीचको राजनीतिक स्वार्थको तालमेल कसैबाट छिपेको छैन। रास्वपाभित्रको आफ्नो प्रभाव प्रयोग गरेर बालेनले आफ्ना ‘प्राज्ञिक पाले’ लाई सत्ताको ढोकासम्म पु¥याएका छन्। यो शैली र उनीहरूले नै गाली गर्ने ‘पुराना नेता’ हरूको शैलीमा खोइ के फरक छ र ?

रास्वपाको पतनः ‘परिवर्तनकारी’ देखि ‘मतियार’ सम्म

रास्वपाको उदयको मुख्य आधार नै पुरानो व्यवस्थाको अन्त्य थियो भन्ने ठानिएको थियो । उसले मतदातालाई भन्यो— हामी अँध्यारो कोठामा लेनदेन गर्दैनौं। तर डा. राम लामाको घटनाले तितो सत्य उजागर गरेको प्रष्ट छ: रास्वपाले खेलको नियम बदलेको छैन, केवल नयाँ कोट लगाएर पुरानै खेल खेलिरहेको छ।

जब रवि लामिछाने र उनको नेतृत्वले यो आरोपमा मौनता साध्छन् वा ‘प्रक्रियागत’ बचाउ गर्छन्, उनीहरूले पार्टीको सबैभन्दा ठूलो सम्पत्ति ‘विश्वास’ गुमाइरहेका हुन्छन् । त्यसो हुनु बिल्कुलै स्वभाबिक हो । बारम्बार दोहोरिएकोले पुराना पार्टीहरूको भ्रष्टाचार अपेक्षित थियो, तर रास्वपाको यो ‘एलिट क्लब’ शैलीको लेनदेन अझ बढी धोकापूर्ण छ। उनीहरू प्राज्ञिक पदवीको आवरणमा राजनीतिक भागबण्डा गरिरहेका छन्।यसले नेपालका युवाहरूलाई एउटै सन्देश दिन्छः यदि तपाईंसँग पहुँच छैन वा तपाईं नेताको व्यक्तिगत सेवा गर्न सक्नुहुन्न भने, ‘नयाँ पार्टी’ मा पनि तपाईंको लागि कुनै ठाउँ छैन।

निष्कर्षः नेपाली राजनीतिलाई वास्तविक ‘सफाई’ को खाँचो छ

मेयर बालेन शाहले पीएचडीको टोपी लगाउलान्, डा. राम लामा सांसद भवन छिर्लान्, तर भन्ने र ठान्ने गरिएको काठमाडौं विश्वविद्यालयको साख र रास्वपाको राजनीतिक पवित्रता यो लेनदेनमा धितो भइसकेको छ । 

हामीले बुझ्नुपर्छ कि जब शक्तिको तर्क प्राज्ञिक क्षेत्रमा छिर्छ, तब शिक्षा दास बन्छ; र जब स्वार्थको लेनदेन मनोनयनमा छिर्छ, तब लोकतन्त्र व्यापार बन्छ। नेपाललाई प्राज्ञिक शब्दको प्रयोग गरेर भ्रष्टाचार लुकाउने ‘बाठाहरू’ को अर्को झुण्ड चाहिएको होइन ।

मेयर बालेन, आफ्नो प्राज्ञिक विशेषाधिकार बन्द गर्नुहोस्। रवि लामिछानेजी, आफ्नो सूची सफा गर्नुहोस्। नेपालका मतदाताले तपाईंहरूलाई हेरिरहेका छन्। रास्वपाको ‘घण्टी’ स्वार्थको लेनदेनका लागि होइन, न्यायका लागि बज्नुपर्छ। यदि तपाईंहरूले यो गर्न सक्नुहुन्न भने, तपाईंहरूले भन्ने गरेको ‘नयाँ राजनीति’ नेपाली राजनीतिको इतिहासमा अर्को एउटा रङ्गीन बुलबुला मात्र सावित हुनेछ।