आइतबार, आश्विन १८ गते २०८३

भन्सार प्रशासन सुधार र पारदर्शितामा सरोकारवालाको जोड


माघ १३, २०८२ मंगलबार
भन्सार प्रशासन सुधार र पारदर्शितामा सरोकारवालाको जोड

 

काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले भन्सार प्रशासनलाई समयानुकूल सुधार गर्दै व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले भन्सार प्रशासन राजस्व सङ्कलनसँगै व्यापार सहजीकरण र राष्ट्रिय अर्थतन्त्रको आधार भएको बताएका छन् ।

कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रलाई सहज बनाउने उद्देश्यसहित नयाँ भन्सार ऐन जारी भइसकेको र यसको कार्यान्वयनका लागि नियमावली स्वीकृत गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । दण्ड चर्को भएको गुनासोप्रति ध्यानाकर्षण गर्दै उहाँले निजी क्षेत्र, भन्सार र अर्थ मन्त्रालयबीच सहकार्य गरेर दण्ड गर्नै नपर्ने अवस्था सिर्जना गर्नुपर्ने जनाए । 

अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले भन्सार प्रशासनलाई अनलाइन एकद्वार प्रणालीमा जोड्ने काम भइरहेको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले भन्सारलाई केवल राजस्व उठाउने निकाय नभई व्यापार सहजीकरण, आपूर्ति शृङ्खला व्यवस्थापन र सीमा सुरक्षाको महत्वपूर्ण निकायका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कारोबार मूल्यमा आधारित भन्सार मूल्याङ्कन, अनलाइन उत्पत्ति प्रमाणपत्र र नगद कारोबार सीमाको पुनरवलोकन आवश्यक रहेको जनाए । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले न्यून जोखिमयुक्त कारोबारमा एलसी र कारोबार मूल्यलाई पूर्ण मान्यता दिनुपर्नेमा जोड दिएका थिए । 

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सूचना प्रविधिको प्रयोगमार्फत व्यापार सहजीकरण र राजस्व सङ्कलनमा सुधार भइरहेको जानकारी दिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी र भन्सार एजेन्टलाई सम्मान गरिएको थियो ।