काठमाडौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिकहरू पछिल्लो समय व्यापक रूपमा ठगीमा परिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नै नपाएका कन्सल्टेन्सी, संस्था तथा व्यक्तिहरूले गैरकानुनी रूपमा श्रमिकलाई जापान पठाउँदा समस्या बढ्दै गएको हो ।
विभागका अनुसार ब्याचलर, कुक तथा विभिन्न सिपयुक्त श्रमिक भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जानेहरूबाट चर्को शुल्क असुली गर्ने, भनेअनुसारको काम नदिने तथा सम्झौताभन्दा कम तलब दिने जस्ता गम्भीर उजुरीहरू लगातार आइरहेका छन् ।
टोकियोस्थित नेपाली दूतावासमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान पुगेका नेपालीका उजुरीको चाङ लागेको दूतावासले जनाएको छ । दूतावासका अनुसार व्यक्तिगत श्रम स्वीकृतिमा आएका धेरैजसो श्रमिक जापान पुगेपछि काम नै नपाउने, फरक काममा लगाइने वा अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य हुने गरेका छन् । यस्ता उजुरी व्यवस्थित गर्न दूतावासले वैदेशिक रोजगार विभागसँग पत्राचारसमेत गरिसकेको जनाएको छ ।
दूतावासको पत्रमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कन्सल्टेन्सी तथा व्यक्तिहरूले जापानमा काम लगाइदिने प्रलोभन देखाएर विभिन्न किसिमका भिसा र कागजात तयार गरी व्यक्तिगत श्रम स्वीकृतिमा श्रमिक पठाउने गरेको उल्लेख छ । यसरी पठाइएका श्रमिक कानुनी संरक्षणबाट समेत वञ्चित हुने गरेका छन् ।
वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीका अनुसार नक्कली वा भ्रमपूर्ण रोजगारीसम्बन्धी कागजात तयार गरी व्यक्तिगत श्रम स्वीकृतिको आवेदन गरिदिने र त्यसबापत चर्को रकम असुली गरेको उजुरी विभागमा आउने गरेको छ । “यो स्पष्ट रूपमा कानुनविपरीतको काम हो,” उहाँले भन्नुभयो ।
विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका कोही पनि व्यक्ति वा संस्थाले यस्तो कार्य नगर्न चेतावनी दिएको छ । साथै सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने श्रमिकलाई अत्यन्त सचेत रहन, काम र कम्पनीबारे स्पष्ट जानकारी नलिई रकम नबुझाउन र शंका लागेमा विभागमा जानकारी गराउन आग्रह गरेको छ ।
नेपालपत्र संवाददाता