राष्ट्रिय सभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्य पदमध्ये १७ पदका लागि आज (माघ ११ गते) देशभरका सातै प्रदेशमा मतदान भइरहेको छ । मतदान बिहान ९ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मात्र आज निर्वाचन भइरहेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशगत रूपमा तोकिएका मतदान केन्द्रमा मतदान भइरहेको छ । कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका लागि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशका लागि हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ । त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।
सदस्य छानिने प्रक्रिया
संविधानअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । मतभारका आधारमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ । यी मतदाताले गोप्य मतदानमार्फत उम्मेदवार चयन गर्छन् ।
सदस्यता सकिने प्रक्रिया
संविधानको व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । निरन्तरता कायम गर्न प्रत्येक दुई–दुई वर्षमा एक–तिहाइ सदस्यको कार्यकाल समाप्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार यस पटक २०८२ फागुन २० गतेदेखि १८ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त हुँदैछ । कार्यकाल समाप्त भएका सदस्य स्वतः राष्ट्रिय सभाको सदस्यबाट हट्नेछन् र सोही मितिदेखि नयाँ निर्वाचित सदस्यले पदभार ग्रहण गर्ने व्यवस्था रहेकाे छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र आजै साँझसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले जनाएको छ ।
नेपालपत्र संवाददाता