सरकारलाई तिर्नुपर्ने बाँकी रकम लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नामावली सार्वजनिक गरिएको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको सूची सार्वजनिक गरेको हो ।
पटक–पटक पत्राचार तथा कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि अन्तिम उपायका रूपमा नाम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । सूचनामा प्रकाशन मितिले ३५ दिनभित्र साँवा र नियमानुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न निर्देशन दिइएको छ ।
निर्धारित समयभित्र बक्यौता राफसाफ नगरेमा प्रचलित कानुनअनुसार सम्बन्धित व्यक्ति तथा संस्थाको चल–अचल सम्पत्तिबाट सरकारी बाँकी असुल उपर गरिने चेतावनी दिइएको छ । यस क्रममा जायजेथा दाबी गरी रकम असुल गर्दा हुन सक्ने आर्थिक वा सामाजिक क्षतिप्रति कार्यालय जिम्मेवार नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।
सार्वजनिक भएको सूचीमा निर्माण व्यवसायी, व्यापारिक फर्म, सरकारी कर्मचारी तथा वैदेशिक कम्पनीहरू समेत समावेश छन् । सूचीमा खुम्बु कन्स्ट्रक्सन, लोकप्रिय निर्माण सेवा, एम.एम. कन्स्ट्रक्सन कम्पनी, महादेव खिम्ती निर्माण सेवा लगायतका दर्जनौँ निर्माण कम्पनीहरू छन् ।
यसैगरी अमेरिकाको टेक्सना रिसोर्सेस कम्पनी, युएईको एमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप र बीबीबी च्याम्पियन्स आयल कम्पनीजस्ता विदेशी कम्पनीहरूले पनि सरकारी बक्यौता नबुझाएको देखिएको छ ।
सूचीमा सशस्त्र प्रहरी बलका मनोज थापा, फुलबारी रिसोर्टका पियुष अमात्यलगायत विभिन्न जिल्लाका व्यवसायी तथा सरकारी सेवामा संलग्न व्यक्तिहरूको नाम पनि समावेश गरिएको छ ।
नेपालपत्र संवाददाता