राष्ट्रिय वाणिज्य बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले कर्जाको गुणस्तर सुधार गर्न ऋणीको चरित्र, मनोभाव र विगतको व्यवहार विश्लेषण गर्ने ‘प्रोफाइलिङ’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
ऋणीबाट बैङ्क कर्मचारीमाथि आक्रमणका घटना बढेकाले ‘केवाइसी’ लाई नियामक दायित्वमा मात्र सीमित नराखी जोखिम व्यवस्थापनको प्रभावकारी उपकरणका रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । बैङ्करहरूले उद्यमीको प्रस्ताव कुर्ने मात्र नगरी अनुसन्धानमा आधारित लगानीका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने सुझाव उनले दिए।
कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ ग्रे लिष्ट ’ मा रहेकाले अन्तर्राष्ट्रिय व्यापार र वित्तीय कारोबारमा चुनौती देखिएको जनाउँदै त्यसैलाई ध्यानमा राखेर नगद कारोबारको सीमा घटाएकाे उल्लेख गरे । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न बैङ्कहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारको करिब पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले स्थापनाकालदेखि नै बैङ्कले मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान दिँदै आएको बताए । बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार बैङ्कले आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्म पाँच खर्ब ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले दुई अर्ब ८३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
नेपालपत्र संवाददाता