राष्ट्रिय सहकारी महासंघले आयोजना गर्न लागेको दोस्रो युवा सम्मेलनको बारेमा केही बताइदिनुस् न?
राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही माघ १३ र १४ गते दुई दिने ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ आयोजना हुन गइरहेको छ । पछिल्लो समय मुलुकमा युवा पुस्तालाई प्राथमिकता दिने विषय उठान भइराखेको छ । त्यसको सान्दर्भिकता बढेसँगै हामीले पनि यो सम्मेलन गर्न लागेका हौं । यस अघि पनि युवा तथा प्रविधि सम्मेलन गरिसकेका छौं । ४० बर्ष भन्दा कम उमेरका युवाहरु जसले सहकारीमार्फत् उद्यमव्यवसाय गरिरहेका छन् उनीहरुलाई सम्मेलनमा सहभागी गराउछौं । त्यसका साथै प्रविधि प्रयोगमा भएगरेका नविनतम अभ्यासलाई समेत सम्मेलनमा समेट्ने छौं । यो सम्मेलनमा देशभरबाट २५० भन्दा बढी युवाहरु सहभागी गराउँदैछौं ।
सम्मेलनमा नीति नियम निर्माण गर्ने सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थाका प्रतिनिधिलाई एउटै छानामुनि जमघट गराएर सहकारीले युवाहरुलाई उद्यमशील बनाउन खेलेको भूमिका, सहुलियत तथा व्यवसायिक कर्जाको व्यवस्था र प्रविधिको प्रयोग जस्ता विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिनेछ । सहकारीले समाजमा धेरै राम्रो काम गरेका छन् । युवाहरुलाई स्वरोजगार बनाएका छन् । मुलुकमा खुलेका बचत तथा ऋण सहकारी, कृषि, सानाकिसान र बहुउद्देश्यीय सहकारीमा जोडिएर उद्यम व्यवसाय गरिराखेका युवाहरुको अनुभव पनि सम्मेलनमा प्रस्तुत गरिनेछ । त्यसैगरी उनीहरुको सफलताका कथा र चुनौतीहरुलाई पनि सम्मेलनमार्फत् प्रस्तुतिकरण गरिनेछ । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गर्दैछौं ।
परम्परागत तवरले विगतमा हुने गरेका गोष्ठी तथा सम्मेलन भन्दा यस पटकको सम्मेलन फरक हुनेछ । सम्मेलनमा जो जो सहभागी हुनुहुन्छ, उहाँहरुको सफलताको कथा, गरिरहेका व्यवसाय र त्यस क्रममा भोगका समस्याहरु जेजति छन्, ती कुुराहरुलाई एउटै थलोमा छलफल गरी राम्रा विषयलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने र व्यवसाय गर्दा भोग्नु परेका चुनौती र समस्यालाई आगामी दिनमा कसरी समाधान गर्ने भन्ने निष्कर्ष निकाल्नेछौं । यस क्षेत्रले गर्दै आएका कामहरुलाई थप प्रभावकारी बनाएर लैजाने सम्मेलनको उदेश्य हो । नेतृत्व, व्यवसाय विकास र हरेक हिसाबले सहकारीलाई युवामैत्री बनाउँदै लैजान यो सम्मेलन फलदायी हुने हाम्रो अपेक्षा छ । सहकारीले समाजमा गरेको योगदानलाई नीति निर्माण तहदेखि गैर सरकारी संघसंस्था एवं विकास साझेदारहरुसम्म सञ्चार माध्यममार्फत् पु¥याउने हाम्रो लक्ष्य रहेको छ । पछिल्लो समय सहकारी अभियान चौतर्फी रुपमा घेरावन्दीमा परेको अवस्था छ । यसलाई चिर्न पनि यो सम्मेलन फलदायी हुने अपेक्षा हामीले गरेका छौं ।
सहभागीबाट शुल्क नलिइ युवा सम्मेलन गर्न लाग्नु भएको छ, स्रोतको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हामीले पहिलो सम्मेलनमा १० हजार शुल्क लिएका थियौं । त्यो समयमा पनि युवाहरुको उल्लेख सहभागिता रहेको थियो । पछिल्लो समय युवाहरुको एजेन्डा झन् व्यापक बनेको र मुलुकमा नै एउटा फरक परिस्थिति निर्माण भएको अवस्था छ । यो परिप्रेक्षमा महासंघले पनि युवाहरुलाई निःशुल्क सम्मेलनमा सहभागी गराउने जमर्को गरेको हो । सम्मेलनमा युवाहरुकै कुरा बढी सुन्नेछौं । उनीहरुले काम गर्ने क्रममा भोगेका अप्ठ्यारा, चुनौती र सफलता कुरा सुनाउनेछन् । वस्तुगत धरातल के छ भनेर देशभरका युवाहरु सम्मेलनमा सुनाउनको लागि आउने भएकाले हामीले शुल्क लिँदा सहभागी नहुने परिस्थिति नबनोस् भन्नका लागि बिनाशुल्क सम्मेलन गर्न लागेका हौं । सहकारी मार्फत् युवाहरुले गरेको उद्यमशीलताको बारेमा आम जनमानसमा लैजानु महासंघको उत्तरदायित्व हो । सम्मेलन आयोजना गर्दा खाना, खाजा, हलको व्यवस्थापनका साथै रिसोर्स पर्सनहरुका लागि खर्च आवश्यक पर्छ । यसका लागि महासंघले विभिन्न संघसंस्थालाई अनुरोध गर्यो र महासंघले गरेको राम्रो काममा सबै संघसंस्थाले सहयोग गरे । पछिल्लो समय परिस्थिति त्यति सहज नहुँदानहुँदै पनि भावनात्मक रुपमा यो सम्मेलनलाई सफल बनाउन सकेको सहयोग उनीहरुले गरे । कतिपय संस्थाले सह–प्रायोजक त कतिपयले सहयोगी संस्थाको रुपमा भूमिका निर्वाह गरेका छन् । हामीले राम्रो एजेन्डा लिएर अगाडि बढ्यौं भने आर्थिक कारणले काम गर्न अप्ठ्यारो पर्दैन भन्ने अनुभव हामीलाई भएको छ । त्यसैगरी हामीले सरकारसँगको सहकार्यमा विगतमा पनि कार्यक्रम गरेका छौं । यो सम्मेलन पनि सहकारी मन्त्रालय र महासंघको संयुक्त आयोजनामा गर्न गइरहेका छौं । विगतमा पनि हामीले सरकारसँग हातेमालो गरी नीतिगत बहस तथा सहकारीका समसामयिक विषयमा थुप्रै कार्यक्रम गरेका छौं । यो सम्मेलनलाई सफल बनाउन पनि सरकारको सहयोग रहेको छ ।
दुई दिनको सम्मेलनका के कस्ता विषयमाथि छलफल तथा अन्तरक्रिया हुने छ ?
महासंघको आचरसहिंता अनुसार ४५ मिनेटमा औपचारिक कार्यक्रमको उद्घाटन हुनेछ । पहिलो सत्रमा ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं, नेफ्स्कूनका सिइओ डा. शिवजी सापकोटा, युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष अनिल पौडेल, स्टार्ट अप इन्नोभेसन फोरमकी सभापति जुना माथेमा प्यानलिष्टको रुपमा रहनुभएको छ । त्यसका साथै सहभागीहरुसँग पनि प्रत्यक्ष रुपमा छलफल गरि अहिलेको वस्तुगत अवस्थाको बारेमा निष्कर्ष निकालिने छ ।
त्यसैगरी ‘सहकारी मार्फत् स्वरोजगार र उद्यमशीलता प्रवद्र्धनः सम्भावना र चुनौती’ विषयमा सानाकिसान लघुवित वित्तीय संस्थाका डिसिइओ झलेन्द्र प्रसाद भट्टराईले मोडरेट गर्नुहुनेछ । अहिले सहकारीले युवाहरुलाई स्वरोजागर र उद्यमशील बनाउन के के गरिराखेका छन् र आगामी दिन के गर्नुपर्छ भन्ने विषयमा उहाँको प्रस्तुतिकरणले देखाउनेछ । यसमा तरकारी कृषक झापाका भोज बहादुर तामाङ, धादिङका युद्ध न्यौपाने, भैरहवाकी माछा कृषक सजना चौधरी, तनहँुका बाख्रापालक शिव कुमार आले, झापाका केराखेती कृषक चन्द बहादुर आले, पृथ्वीनगरबाट चिया खेती गर्दै आएकी देवी कोइरालाले अनुभव सुनाउनुहुनेछ । त्यसका साथै सहारा नेपाल, एनएमसी लगायतका सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बनाउन कसरी काम गरिराखेका छन् भन्ने विषयमा श्रव्यदृश्य सामग्री मार्फत उहाँहरुको अनुभव प्रस्तुत गरिनेछ । ती संस्थाहरुले गरेका असल अभ्यासलाई अनुसरण गर्न प्रोत्साहित गरिने छ भने व्यवसाय गर्दा भोगेका समस्याका विषयमा छलफल गरी निचोड निकालिनेछ ।
त्यसैगरी ‘डिजिटल रुपान्तरणमा प्रविधि र युवा’ विषयमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमका सिइओ डा. सन्जिब सुव्बाले प्रस्तुति गर्नुहुनेछ । नबिल बैंकका सिइओ मनोज ज्ञवाली, एइसीका सिइओ दिपेन्द्र जोशी, कनेक्ट कृषिका राजन दाहाल लगायतबाट टेक्नोलोजी ट्रान्सफरमेशनका विषयमा छलफल गरिनेछ । अर्को सेशनमा युवा मैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण के छ भनेर छलफल गर्नेछौं । पछिल्लो समय हामीले युवाका कुरा त गर्छौ तर सरकार र सरोकारवाला निकायले कतिको युवामैत्री काम गरिराखेका छन् । युवाहरुलाई अगाडि बढाउन कस्ता नीति तथा कार्यक्रम तय गरेका छन् । यो सन्दर्भमा के गर्नुपर्छ भनेर सरकारी निकायका प्रतिनिधिहरुको कुरा सुन्छौं । यो विषयमा अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका सह सचिव तथा महेश भट्टराई र उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले प्रस्तुतिकरण गर्नुहुनेछ । युवा तथा खेलकुद मन्त्रालयका उप सचिव जगदिश पराजुली, सहकारी विभागका रजिष्ट्रार लगायतका व्यक्तित्वसँग पनि छलफल गर्नेछौं । सहकारीहरुले उद्योग व्यवसाय गर्न र उत्पादित वस्तुको व्राण्डिङ गर्न विभिन्न समस्याहरु भोग्नु परेको छ । सहकारीमार्फत् उद्यम व्यवसाय गर्न सरकारले अहिले गरेको व्यवस्था र आगामी दिन के कस्ता नीति बनाउँछ भन्ने विषयमा फ्लोरबाट युवाहरुले जिज्ञासा तथा सुझाव राख्नुहुनेछ । विज्ञहरुबाट सुन्ने र घर फर्कने अभ्यास विगतमा थियो । यस पटक भने सहभागीहरुले निर्धक्क साथ आफ्नो कुरा राख्ने र बलियो आत्म विश्वास लिएर कार्यक्षेत्रमा फर्काउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।
सम्मेलनमा सहभागी हुन चाहनेले कसरी दर्ता गर्न सक्छन् ?
हामीले युवा तथा प्रविधि सम्मेलनमा दर्ता गर्नको लागि महासंघका ३१८ वटा सदस्य संघ र एसोसियट संस्थाहरुलाई भनेका छौं । जिल्ला संघहरुले आफ्नो सदस्य संस्थाहरु मार्फत् उद्यम व्यवसाय गरेकाहरुलाई सम्मेलनमा दर्ता गर्न सक्नुहुनेछ भने प्रारम्भिक संस्थाबाट सेवा लिएर उद्यम व्यवसायी बनेकाहरुलाई पनि सम्मेलनमा सहभागी हुन नाम दर्ताको लागि खुल्ला गरिएको छ । कतिपय संघ संस्थाले सम्मेलनमा सहभागी हुन नाम दर्ता गरिसक्नु भएको छ भने कतिपय दर्ताको क्रममा हुनुहुन्छ । हामीले माघ १० गतेसम्म दर्ताको समय दिएका छौं । सहकारी मार्फत राम्रो काम गरेका किसान, युवा, महिला तथा पिछडिएका वर्गलाई सम्मेलनमा सहभागी गराउन प्रोत्साहित गरेका छौं । युवा तथा प्रविधि सम्मेलनमा सहयोग गर्ने संघ संस्थाहरुबाट राम्रा काम गरेका युवा उद्यमीलाई पनि सम्मेलनमा सहभागी हुन पत्राचार गरेका छौं । महासंघको वेबसाइट र फेसबुक पेज मार्फत् पनि सहभागी हुनका लागि भनेका छौं । ४० बर्ष मुनिका युवा जसमा केही गर्ने जोश जाँगर छ वा केही व्यवसाय गरिराख्नु भएको छ भने महासंघ, जिल्ला संघ र प्रारम्भिक संस्थामार्फत् पनि सम्मेलनमा सहभागी हुन दर्ता गर्न सकिनेछ । पहिला दर्ता हुनेलाई पहिलो प्राथमिकता रहेको छ । २५० देखि ३ सय जनासम्मलाई सम्मेलनमा सहभागी गराउने योजना हाम्रो छ । युुवाहरु सम्मेलनमा सहभागी हुन ईच्छुक हुनुहुन्छ भने महासंघमा सम्पर्क गर्नुस् । तपाईलाई सहभागी हुने व्यवस्था हामी मिलाउँछौं । सम्मेलनमा सहभागी भएर आफ्ना कुरा, समस्या, योजना र सुझाव निर्धक्क साथ राख्न सक्नुहुनेछ । सम्मेलनपछि एउटा निचोडका साथ गरिराखेका उद्यम व्यवसायलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने वातावरण अवश्य बन्नेछ ।
युवालाई सहकारी मार्फत उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्नु नै सम्मेलनको उदेश्य हो त ?
सहकारी संघ संस्थाले आफ्ना सदस्यमार्फत जुन काम गरिराखेका छन् त्यो सराहनीय छ । नेपालको दुरदराजदेखि शहरसम्म युवा, महिला र सबै उमेर समुहका मानिसहरुलाई उद्यमी व्यवसायी बनाउन संस्थाहरुले काम गरिराखेका छन् । सहकारीमार्फत् मुलुकका धेरै मानिसले लाभ लिएका छन् । सम्मेलनमा सहकारीमार्फत् भइराखेको उद्यम व्यवसायको उजागर गर्ने र अर्कोतर्फ सहकारी मार्फत युवाले के चाहन्छन्, त्यसलाई बुझेर आगामी दिनमा योजना बनाउन सम्मेलनले मार्ग प्रशस्त गर्नेछ । कृषि उत्पादन, बजारीकरण र इकमर्श जस्ता विषयमा युवाहरुलाई प्रशिक्षित गर्ने र गर्दै आएको व्यवसायलाई प्रवर्धन गर्न पनि सम्मेलन फलदायी हुनेछ । सम्मेलनमा एकअर्काका अनुभव साटासाट हुने भएकाले थप उर्जा मिल्नेछ । उद्यम व्यवसाय गर्न चाहनेहरुलाइ सहकारी बैंक, साना किसान लघुवित्तीय वित्त संस्था, वित्तीय कारोबार गर्ने संघसँग जोडाएर उद्यम व्यवसायलाई थप प्रवर्धन गर्न आवश्यक सहजिकरण समेत गर्नेछौं । प्रविधिको प्रयोगका विषयमा थप उजागर गर्दै गरिरहेको व्यवसायलाई अगाडि लैजान सम्मेलनले सघाउनेछ ।
मुलकमै बसेर आर्थिक उपार्जन गरी सबल हुने र राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउन यो सम्मेलनले सघाउ पु¥याउने छ । त्यसका साथै विभागीय मन्त्री, सचिव, रजिष्ट्रार लगायतका उच्चपदस्थ व्यक्तिहरु सम्मेलनमा आउनुहुनेछ । सरोकारवाला निकाय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने भएकाले व्यवसायीले भोग्दै आएका समस्या र चुनौतिका साथै आगामी दिनमा सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा समेत छलफल हुनेछ । अहिले युवा लक्षित थुप्रै कार्यक्रम भएपनि वास्तविक उद्यमीले ती सेवाबाट बञ्चित हुनुपरेको र सेवा लिन जाँदा भोगेका अप्ठ्याराका विषयमा छलफल गरी निकास निकाल्न प्रयत्न गरिनेछ । विश्वका थुप्रै मुलुक ती देशकै युवाहरुले बनाएका छन् । हामी आफैंले आफ्नो देश बनाउने हो अरु कोही आएर बनाइदिँदैन । हामी सबै मिलेर श्रम गरौं, सहकारीमार्फत् मुलुकलाई समृद्ध बनाऔं ।
सहकारी मार्फत् कति युवाले उद्यम व्यवसाय गरिराखेका छन्, त्यसको यकिन तथ्याङ्क छ ?
जेनजी आन्दोलनपछि मुलुकमा युवाका कुराहरुले विषेश प्राथमिकता पाएको छ । देशभर करिब ३२ हजार सहकारी रहेको तथ्याङ्क छ । ती संस्थामा सञ्चालक, कर्मचारी र सेवा लिएर व्यवसाय गर्नेहरुमा अधिकांश युवाहरु नै छन् । तर अहिले त्यसको यकिन तथ्याङ्क छैन । सरकारले सहकारीको यकिन तथ्याङ्क संकलन गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा अगाडि बढेको छ । सहकारी संघसंस्थामा युवाको सहभागितालाई बढाउन आवश्यक छ भनेर महासंघले सबै संघसंस्थाहरुलाई युवा समन्वय उपसमिति गठन गर्नको लागि अपिल गरेका छौं । सहकारीमा युवाहरुलाई प्राथमिकतामा राखेर तालिम तथा गोष्ठी गर्ने, ऋण लगानीमा सहजता प्रदान गर्ने र सहुलियतमा ऋण लगानी गर्न प्रोत्साहन गरिएको छ । ताप्लेजुङमा अलैंची खेती गर्नेदेखि इलाममा चिया, कफी, झापा बर्दिया, काभ्रे लगायतका जिल्लामा तरकारी खेती केरा, च्याउ उत्पादन, पशु तथा बाख्रा पालन गर्ने काम सहकारीमार्फत् युवाले गर्दै आएका छन् ।
पछिल्लो समय विदेशबाट फर्किएका र नेपालमा नै बसेका युवाहरुले पनि सहकारीमार्फत् ऋण लिएर उद्यम व्यवसाय गर्दै आएको पाइन्छ । नेपालमा केही हुँदैन र गर्न सकिँदैन भन्ने भाष्य बनिरहेको अवस्थामा सहकारीले सहुलियत दरमा ऋण दिएर युवाहरुलाई आयआर्जनमा लाग्न अभिप्रेरित गरेको छ । त्यसका साथै उत्पादित वस्तुको बजारीकरण गर्ने काममा पनि सहकारीहरुले भूमिका खेल्दै आएका छन् । यसलाई अझ प्रभावकारी बनाउन संघसंस्थाका साथै महासंघको भूमिका बढाएर लैजान आवश्यक छ । पछिल्लो समय सहकारी माथि प्रश्नचिन्ह उठिरहेकाले अब सहकारीले सदस्यहरुलाई उद्यम व्यवसायमा जोडेर उद्यमशीलता प्रवर्धन गर्न आवश्यक छ ।