बुधबार, भाद्र ३ गते २०८३

“अर्थतन्त्र सबै दलको साझा एजेण्डा बन्नुपर्छ” — अध्यक्ष ढकाल


माघ ८, २०८२ बिहीबार
“अर्थतन्त्र सबै दलको साझा एजेण्डा बन्नुपर्छ” — अध्यक्ष ढकाल

 

नुवाकाेट ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकासलाई सबै राजनीतिक दलको साझा एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन्।

नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “मुलुक निर्वाचनमय भएको छ, सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा छन्। यस्तो अवस्थामा निजी क्षेत्रले अघि सारेका एजेण्डालाई दलहरूले आफ्ना घोषणापत्रमा पहिलो प्राथमिकतामा राख्नुपर्छ।”

आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका निर्णायक रहेको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बनाइ रोजगारी सिर्जना, उद्योगधन्दा र कलकारखानाको विकासमार्फत औद्योगिक उन्नति गर्न निजी क्षेत्रका एजेण्डालाइ प्राथमिकतामा राखिनुपर्ने जनाए । केहि समय अघि मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको स्मरण गर्दै उनले भने, “हिजो अर्थतन्त्र गम्भीर संकटमा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासकै कारण आजको अवस्था सम्भव भएको हो। आगामी दिनहरू पनि सहज छैनन्, त्यसैले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ आवश्यक छ।”

देशमा जुनसुकै राजनीतिक दलको सरकार बने पनि अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे । अध्यक्ष ढकालले अन्त्यमा आर्थिक वृद्धि बिना सुशासन र समृद्धि सम्भव नहुने स्पष्ट पार्दै सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई साझा एजेण्डाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।