बुधबार, भाद्र ३ गते २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि अर्थले दियो बजेट, १९अर्ब २१ करोड निकासा


माघ ७, २०८२ बुधबार
प्रतिनिधिसभा निर्वाचनका लागि अर्थले दियो बजेट, १९अर्ब २१ करोड  निकासा


अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। २१ फागुनमा  हुन लागेको  प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र अन्य सुरक्षा निकायहरूमा आवश्यक खर्च व्यवस्था गर्न यो रकम छुट्याइएको अर्थले जनाएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको छ। आयोगले निर्वाचनका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। हालसम्म निकासा भएको रकम करिब ७० प्रतिशत भन्दा बढी रहेको छ। 

केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षामा १ लाख ४७ हजार निर्वाचन प्रहरी तैनाथ गर्ने निर्णय गरेको छ। निर्वाचन प्रहरीका लागि ४० दिनको अवधि तोकिएको छ। पारिश्रमिक, पोसाक, रासन भत्ता, खाजाभत्ता, यातायात खर्च लगायतमा ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

त्यस्तै, नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरी बललाई ३ अर्ब ३३ करोड, ७७ जिल्ला प्रशासन कार्यालयलाई ३१ करोड ४६ लाख, गृह मन्त्रालयलाई ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागलाई ६ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७ सय २७, प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति तैनाथ हुने तयारी छ।