काठमाडौँ — नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ६३ दिन अवधिको रु. २० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त रकमका लागि माघ ७ गते बुधबार मध्यान्ह २ बजेसम्म बोलकबोल आह्वान गरिएको छ ।
बोलकबोल ई–बिडिङ प्रणालीमार्फत हुनेछ भने सोही दिन निक्षेप संकलन उपकरण निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ । यसमा ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
राष्ट्र बैंकका अनुसार साँवा तथा ब्याज चैत ११ गते भुक्तानी गरिनेछ । बोलकबोलमा न्यूनतम रु. १० करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी प्रस्ताव गर्न सकिने व्यवस्था छ ।
यस निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
नेपालपत्र संवाददाता