काठमाडौँ — नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिनमा पाँच अंकको वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ । बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार विश्व बजारमा एक औँस सुन ४ हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेको छ । यही कारण अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य तीव्र रूपमा बढेको विश्लेषकहरूको भनाइ छ ।
नेपालपत्र संवाददाता