काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० बजेबाट शुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता हुँदैछ।
उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रसहित १० प्रकारका कागजात आवश्यक छन्। उम्मेदवारको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको हुनुपर्नेछ। सरकारी सेवामा रहेका उम्मेदवारले राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ।
मनोनयन दर्ताका क्रममा प्रस्तावक र समर्थक अनिवार्य छन्। दलको तर्फबाट उम्मेदवारी दिनेले केन्द्रीय समितिले प्रदान गरेको मनोनयन पत्र बुझाउनुपर्ने हुन्छ। उमेदवारीका लागि धरौटी रकम १० हजार रुपैयाँ तोकिएको छ। महिला, दलित, अल्पसंख्यक र विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट दिइनेछ।
निर्वाचन आयोगले समयमै कागजात तयारी गर्न उम्मेदवारलाई आग्रह गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । समानुपातिकतर्फको मनोनयन प्रक्रिया भने यसअघि नै पुस १३ र १४ गते सम्पन्न भइसकेको छ ।
नेपालपत्र संवाददाता